Logo

अर्थ

सेयर बजारमा सुधारको संकेत, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । यसअघि सोमबारसम्म निरन्तर ओरालो लागिरहेको सेयर बजार मंगलबार र बुधबार उकालो लागेको हो ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४७.४६ अंकले बढेर १९८१.५० बिन्दुमा उक्लिएको छ । यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ९.१९ अंकले बढेर ३८५.३६ बिन्दुमा उक्लिएको छ ।

एक अर्बभन्दा तल खुम्चिएको कारोबार समेत आज बढेको छ । यस दिन १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार अवधिभर २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सेयर बजारमा उच्च अंकको वृद्धि हुँदा १३ वटै सूचकमा हरियाली छाएको छ । लाभांशको समयमा बजार निरन्तर ओरालो लाग्दा निरास भएका लगानीकर्ता सेयर बजार बढेसँगै उत्साहित भएका छन् ।

६ करोड ५१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । बुधबार १८४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ५ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ७.८१ प्रतिशतले बढेको छ । आज मैलुङखोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  ३ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।