Logo

अर्थ

लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने सम्झौता



लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ ।

काठमाण्डौको नक्सालस्थित होटेल मेरियटमा आज आयोजित एक कार्यक्रमबीच दुवै बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो । सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् ।

दुवै बैंकबीच अहिलेलाई १ः१ अनुपातमा मर्ज हुने सम्झौता भए पनि डीडीए रिपोर्टअनुसार स्वाप रेसियो निर्धारण गरिने सहमति भएको छ ।

यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठनसमेत गरिएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा। मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकका तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहनेछन् । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिनेछ ।

मर्जरपछि बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । मर्जर प्रक्रिया असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको लक्ष्मी बैंकका एक संस्थापकले बताए ।

नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ ।

कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

हाल लक्ष्मी बैंकको ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । बराबरी हैसियतमा मर्जरमा गएमा बैंकको चुक्तापुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १८:१४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।