काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यही माघ १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
सोमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो भने ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यस आईपीओमा माघ १६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन पाउनेछन् । त्यस्तै, सर्वसाधारणलाई फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आइपिओ निष्काशन खुला गर्ने भएको छ । यस आईपीओमा दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।




















प्रतिक्रिया