Logo

अर्थ

बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी




पोखरा । पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्था विरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहसंयोजक रहेको सङ्घर्ष समितिसमेत गठन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जाका साँवा र ब्याजका लागि भइरहेका धरपकडविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमको घोषणा गरिएको हो । सङ्घर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न वस्तुगत सङ्घका अध्यक्षहरू सदस्य रहेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाका सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर सङ्घर्ष गर्ने निर्णय गरिएको पोखरा उद्योग वाणिज्य सङघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।

भेलामा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी सङ्घर्ष समिति एवं आफूलाई दिन आग्रह गरे । दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ट लालपुर्जा लगेर बुझाइने उनले चेतावनी दिए ।

महासङ्घका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाको सुदखोर व्यवहार मान्य नहुने बताउँदै कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरूबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायी मर्कामा परेको बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष वसन्त उदास, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य सङ्घका उपमहासचिव जानुका अधिकारीसहित विभिन्न वस्तुगत सङ्घका अध्यक्ष तथा पदाधिकारीले बोलेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ११:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।