Logo

अर्थ

आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व हो : मन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताएका छन् ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रका समस्या समाधान हल गर्न प्रयत्नशील रहेको जानकारी दिए ।

“अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन भन्ने स्पष्ट छ । निजी क्षेत्र समस्यामा रहेको बारे सरकार जानकार छ”, उनले बताए । आर्थिक क्षेत्रलाई गतिशील बनाउनु राज्यको दायित्व रहेको उनले बताए । निजी क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको पनि उनको भनाइ छ ।

सोही कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष गणेशकुमार न्यौपानेले कोभिड–१९ महामारीपछि निजी क्षेत्रले निरन्तर सङ्कट भोगिरहेको बताए । सरकारले कोभिड महामारीपछिको पुनरुत्थानमा ध्यान पुर्‍याउन नसकेको उनको भनाइ छ । “कोभिडपछिको आर्थिक पुनरुत्थानमा सरकार केन्द्रित हुन सकेन । उत्पादन उद्योग स्थापनामा ध्यान पुग्न नसक्दा अर्थतन्त्रमा समस्या देखियो”, उनले भने । सरकारले कर प्रशासनलाई चुस्त बनाई न्यून बिजकीकरणको समस्या हल गर्नतर्फ ध्यान दिनुपर्ने पनि अध्यक्ष न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १३:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।