Logo

प्रमुख समाचार

इतिहास : राष्ट्रसंघको मुख्यालयमा पहिलो पटक फहराएको थियो नेपालको झण्डा



काठमाडौं । विश्वमा कहिल्यै अरुको उपनिवेश नभएको नेपालकाे आफ्नै इतिहास छ । इतिहासमा आजकै दिन नेपालकाे झण्डा संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलोपटक फहराएको थियो । ६७ वर्ष अगाडि आजकै दिन नेपालको राष्ट्रिय झण्डा संयुक्त राष्ट्र संघको मुख्यालयमा पहिलो पटक समावेश गराइएको थियोे ।

बि.सं. २००६ साउन ७ गते लेफ्टिनेन्ट जनरल विजय शम्शेर राणा बिदेशी बिभागको डाइरेक्टर जनरलको रुपमा संयुक्त राष्ट्र संघ पुगेका थिए । त्यतिबेला, २००२ कार्तिक ८ मा स्थापना भएको संयुक्त राष्ट्र संघमा केवल ५१ राष्ट्र मात्र सदस्यहरु थिए । जसमध्ये ५० राष्ट्रले २००२ को असार १३ मा हस्ताक्षर गरेका थिए भने पोल्याण्डले गठनको एक हप्ता अगाडि मात्र हस्ताक्षर गरेको थियो ।
यसरी गठन भएको संयुक्त राष्ट्र संघमा नेपालले पनि राणाकालकै समयमा संयुक्त राष्ट्रसंघ गठन भएको चार वर्षपछि सदस्यताको लागि आवेदन दिएको थियोे ।

संयुक्त राष्ट्र संघ पुगेका विजय शम्शेरले २८ पृष्ठ लामो आफ्नो निवेदनमा सदस्यता पाउनु पर्ने आधारहरु लेखेर निवेदन दिएका थिए । तर भारतीय दबाब तथा सल्लाहमा सोभियत संघले २००६ को भदौ २२ मा भएको महासभामा भिटो लगाएर सदस्य हुन दिएन । सुरक्षा परिषदका ९ राष्ट्रको सहमति हुँदा पनि सोभियत संघको भिटोको कारणले नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्नबाट बञ्चित भयो । यसपछि पनि संयुक्त राष्ट्रसंघको सदस्य बन्न नेपालको तर्फबाट निरन्तर प्रयासहरु भइरहे । अन्ततः वि.स. २०१२ को मंसिर २९ मा भएको संयुक्त राष्ट्र संघको दशौ महासभाको ५५५ औं बैठकले नेपाललाई अन्य १५ राष्ट्रको साथमा सदस्यताको लागि स्विकृति प्रदान गर्यो ।

त्यति बेला नेपालमा राजा महेन्द्रको प्रत्यक्ष शासन थियो । तसर्थ त्यस सभामा कसैले पनि भाग लिएनन् । सदस्यता प्रदान गरेको तीन महिना पछि २०१२ फागुन २६ मा संयुक्त राष्ट्र संघको मुख्यालय बाहिर सदस्यता राष्ट्रको झण्डा फहराइयो । नेपालसहित संयुक्त राष्ट्र संघको सदस्यता पाएका १६ राष्ट्रको झण्डा एकै पटक मुख्यालय अगाडि फहराइएको थियो । अल्वानिया, अष्ट्रिया, बुल्गेरिया, कम्बोडिया, फिनल्याण्ड, हंगरी, आयरल्याण्ड, इटली, जोर्डन, लाओस, लिबिया, पोर्टुगल, रोमानिया, स्पेन तथा श्रीलंकाको साथ नेपालको पनि झण्डा त्यसबेला मुख्यालय अगाडि फहराइएको थियो ।

एघारौ महासभामा भने टंकप्रसाद आचार्यको मन्त्रीपरिषदका परराष्ट्र मन्त्री चूडाप्रसाद शर्माले संयुक्त राष्ट्र संघको महासभामा पहिलो पटक भाग लिएका थिए । साथै सदस्यता प्रदान गरेको भन्दै नेपालको तर्फबाट धन्यवाद पनि दिएका थिए । त्यस महासभामा हिमालय बिक्रम शाह पनि सहभागी थिए । यस पछि भने ऋषिकेश शाहलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि नियुक्त गरियो । त्यसपछि संयुक्त राष्ट्रसंघको महासभामा ऋषिकेश शाहले नेपालको प्रतिनिधित्व गरे ।

प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार  ९ : १३ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।