अनलाइनपाना आज (चैत्र ७ गते मंगलबार)देखि ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । २०७२ साल चैत्र ८ गते स्थापना भएको यस अनलाइन न्यूजपोर्टलले विभिन्न संघर्षका चरण पार गर्दै यहाँसम्म आइपुगेको हो । चेञ्ज नेपाल ग्रुप अफ कम्पनीद्धारा प्रकाशन तथा प्रसारणमा रहेको ‘सुसूचित नेपालको चित्र’ मूलमन्त्रबाट सञ्चालित यस अनलाइनपाना डटकम आफ्नो उद्देश्यमा नडगमगाई आमजनतालाई सुसूचित गराउन अग्रसर भइरह्यो ।
सूचना र प्रविधिको विश्वव्यापी विकासको परिणाम सम्पूर्ण सूचना र समाचार एउटा सानो मोबाईलमा अटाउने यस समयमा प्रतिस्पर्धात्मक बन्ने साहसका साथ अघि बढेको यस अनलाइनलाई प्राप्त माया, सद्भाव, साथ र समर्थनलाई हामीले सफलताको सूचक ठानेका छौं ।
पत्रकारिता समाजको ऐना हो । यसलाई स्वच्छ र पारदर्शी राख्नु हाम्रो दायित्व हो । समाजको यथार्थ र सत्यतासँग हामी चिरपरिचित छौं । त्यसैले त हामी जे देख्छौं, त्यही लेख्छौं । पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता गर्दै गर्दा सत्यतथ्य र निष्पक्षतापूर्वक कलम चलाउनु हाम्रो धर्म हो । आग्रह र पूर्वाग्रह नराखी सूचना सम्प्रेषण गर्नु हाम्रो दायित्व हो ।
अनलाइनपाना प्रकाशनको सुरुवातमा देश ठूलो संकटबाट विक्षिप्त थियो । छिमेकी मूलुकको स्वार्थ बाझिँदा नागरिकले भोग्नु परेको नाकाबन्दीले मुलुकको आर्थिक अवस्था निकै संकटपूर्ण थियो, सामाजिक र राजनीतिक अवस्था समेत जर्जर थियो । त्यस्तो बिषम परिस्थितिमा हामीले कठिन यात्राको सुभारम्भ गरेका थियौं । समय प्रतिकुल थियो तर असम्भव भने अवश्य थिएन । सम्भावनाको दियो बाल्दै अघि बढेको हाम्रो निरन्तर यात्राले सार्थकता पायो । अनलाइनपानाको बीजारोपण गर्दै गर्दा देशमा नयाँ संविधान आएको थियो । देशको आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा सम्भावनाका पालुवा पलाउने आशा थियो ।
नेपालको संविधान २०७२ मा टेकेर महत्वपूर्ण निर्वाचन सम्पन्न भए । लामो समयदेखि जनप्रतिनिधि विहीन बनेका जनताले घरआँगनमै प्रतिनिधि पाए । प्रतिनिधिसभा निर्वाचनपछि देशमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा प्रवेश गर्यो । देशले सातवटा प्रदेशमा सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्री पायो । अर्को कुरा कसैले कल्पना नगरेको पार्टी एकता गरेर केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सबैलाई अचम्मित मात्र तुल्याएनन्, देशमा स्थायी सरकार आउने र समृद्धिका लागि जनतालाई आशावादी तुल्याए ।
दुर्भाग्यवस केपी ओलीले प्रतिनिधिसभा नै विघटन गरेपछि बढेको विवाद र सडक कब्जा गर्ने एक अर्को समूहको प्रतिस्पर्धाले जग हँसाए । भलै प्रतिनिधिसभा पुनस्र्थापित त भयो, तर अदालतले उनीहरुको एकतालाई अवैध भनिदियो । जसले गर्दा उनीहरु पूर्व एमाले र पूर्व माओवादी केन्द्र नै कायम भए ।
कोरोनाको महामारीले विश्व आक्रान्त हुँदा नेपाल निरपेक्ष रहने प्रश्नै भएन । त्यस समयमा सरकार जनताप्रति जवाफदेही नहुँदाका दृश्यहरु जस्तो रुपमा हामीसामू आए, हामीले जनतासामू त्यही रुपमा सम्प्रेषण गर्यौं । जसमा हाम्रो भूमिका निष्पक्ष थियो । हामीले निरन्तर एकलव्य तरिकाले विधिको शासन र जनचासोको विषय उठान गरी रह्यौं । आजको हाम्रो उपस्थिति त्यही जगको निरन्तरता हो ।
स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारितालाई निरन्तरता दिँदै अगाडि बढ्ने हाम्रो पूर्ववत लक्ष्य आगामी दिनको लागि पनि हुनेछ । अबका दिनमा पनि हामीलाई पूर्ववत नजरले हेर्नु हुनेछ भन्ने हाम्रो अपेक्षा छ । हामीलाई यहाँसम्म पुर्याउन महत्वपूर्ण साथ, सहयोग र सल्लाह सुझाव दिने आमपाठक वर्ग एवम् सहकार्यको हात मिलाएर सफलताको सहयात्री बन्ने सम्पूर्ण विज्ञापनदाताहरुप्रति कृतज्ञ रहँदै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
प्रतिक्रिया