काठमाठौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन र सरकारबीचको वार्ता जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ साढे ५ बजेबाट दुई पक्षबीचको छलफल सुरु भएको हो ।
पुन नेतृत्वको तीन दस्यीय टोलीसँगको वार्तामा सरकार पक्षबाट उपप्रधान तथा रक्षा एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, सरकारका मुख्यसचिव शंकरदास बैगारीसहित विभिन्न ९ मन्त्रालयका सचिवहरु सहभागी छन् ।
पुन नेतृत्वको टोलीका डा. सागर ढकालका अनुसार जारी वार्तामा डा. पुनले आफ्ना मागबारे सरकारको ठोस प्रतिवद्धता चाहिने अडान गरेका छन् । ‘प्रतिवद्धताले मात्रै हुँदैन । बरु मलाई समय तोक्दिनुस्, त्यो समयभरी म कुर्छु’, डा. पुनको भनाइ उदृत गर्दै अनलाइनपानासँग ढकालले भने, ‘तर अरुलाई जस्तो सरकारले प्रतिवद्धता जनाउँदैमा म मान्दिन ।’
डा. पुनको टोलीले सरकारले ठोस कदम नचालेसम्म आन्दोलन जारी राख्ने अडान दोहो¥याएको छ । आइतबार दिउँसो पहिलो चरणको वार्ता रक्षा मन्त्रालयमा भएको थियो । उक्त वार्ता सकारात्मक भएपछि आजै दोस्रो चरणको वार्ता भइरहेको हो ।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्र हेर्ने छुट्टै निकाय खडा गर्नुपर्ने र राज्यले यसमा लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा शुक्राबारदेखि आन्दाेलन जारी राखेका छन् ।
प्रतिक्रिया