काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न आमसञ्चार प्रतिष्ठान गठनको तयारी गरेको बताएकी छिन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग नेपाल)ले परराष्ट्र मामिलामा पत्रकार महिलाकोे अवस्थाबारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री शर्माले आमसञ्चार ऐन ल्याउन आफुले पहल गरिरहेको र ऐन पास हुने वित्तिकै आम सञ्चार प्रतिष्ठान स्थापना गर्ने बताएकी हुन् ।
कार्यक्रममा मन्त्री शर्माले महिला पत्रकारले चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको बताउँदै पुरुषहरुसँगको प्रतिस्पर्धा नै महिलाहरूलागि ठूलो चुनौती रहेको बताइन् । उनले महिला पत्रकारहरुको संख्यामा पनि कम्तीमा वृद्धि गरेर न्यूनतम ३३ प्रतिशत पुर्याउनु पर्ने भन्दैे महिला पत्रकारहरुलाई अगाडि बढाउनका लागि चाहिने सहयोग मन्त्रालयबाट गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
म्यागले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार, सामाजिक बिटमा २३.९ प्रतिशत, राजनीतिक बिटमा १३.३ प्रतिशत र स्वास्थ्य बिटमा ११.१ प्रतिशत महिला पत्रकार कार्यरत रहेको देखाएको छ । यस्तै, आर्थिक, वातावरण र मनोरञ्जन बिट प्रत्येकमा ६.२ प्रतिशत, खेलकुदमा २.२ प्रतिशत, कानुनमा ०.४ प्रतिशत र सबै बिटमा ४ प्रतिशत महिला पत्रकार कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।
विदेशी मामिला सम्वन्धी रिपोर्टिङमा पत्रकार महिलाको सहभागिता कम हुनुमा सम्पादकहरुले पत्रकार महिलालाई विश्वास नगर्नु, सूचना स्रोतसम्म पुग्न कठिनाई रहनु प्रतिवेदनमा भनिएको छ । सन् २०२२ नोभेम्बरदेखि २०२३ को फेबु्रअरीसम्म गरिएको अध्ययनमा ५०० जना महिला पत्रकारहरु सहभागी थिए । सहभागी मध्ये ८५दशमलव ६ प्रतिशत महिला पत्रकारले सम्पादकले नपत्याउने र चुनौतिपूर्ण भएपनि परराष्ट्र र सुरक्षा बिटमा काम गर्न इच्छुक रहेको जवाफ दिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया