काठमाडौं । गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि सिन्धुली अस्पताल र पीडितका आफन्तबीचको द्वन्द्व छानबिन समिति बनेपछि साम्य भएको छ ।
कनपा ५ सिलामेकी २६ वर्षकी गंगा गुरुङ श्रेष्ठको अस्पतालमा सुत्केरी हुन नसकेपछि अस्पतालले रिफर गरेकोमा बाटोमै जाँदा मृत्यु भएको भनेर मृतकका आफन्तले सिन्धुली अस्पतालमा तोडफोड गरेका थिए । गर्भवति महिलालाई मंगलबार बिहान १० बजे सिन्धुली अस्पतालमा ल्याइएको थियो ।
अस्पतालले दिउँसो ३ बजे नै उनलाई रिफर गरेको थियो । गर्भवतिलाई उपचारका लागि परिवारले बर्दिवासको साई मल्टिस्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर लगेका थिए । उक्त अस्पतालले महिला मृतक रहेको सुरुमै घोषणा गरिदिएको थियो । मृतकका आफन्तले डाक्टरको लापरबाहिका कारण गर्भवति महिलाको मृत्यु भएको भन्दै डाक्टरलाई कारबाहिको माग गरेका थिए । अस्पतालमा ढुंगा मुढा र लठ्ठीको प्रयोग गरी मृतकका आफन्त तथा परिवारले तोडफोड गरेको जिल्ला प्रहरी सिन्धुलीका प्रवक्त डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।
आक्रोशित मृतकका परिवार तथा आफन्तहरुले बन्दै गरेको सिन्धुली अस्पताल, इमर्जेन्सी कक्ष, आँखा अस्पताल, डिजास्टर स्टोर, फोहोर व्यवस्थापन कक्ष, ओपीडि, बिरामी भर्ना कक्ष, प्रसुति कक्ष, साझा औषधि पसल, अस्पतालको क्यान्टिनलगायतका सबै भवनहरुमा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालभित्र ढुंगामुढा र तोडफोड भएपछि भर्ना भएका बिरामीहरु ज्यान जोगाउन अस्पताल छोडेरै भागेका थिए । अस्पताल प्रांगणमा भएका सवारी साधनहरुमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।
पीडित पक्ष र अस्पतालबीचको सहमति, प्रशासन समेतले मिलायो विवाद
अस्पताल व्यवस्थापन, सरोकारवाला र पीडितपक्षबीच सहमति भएपछि अस्पतालको सेवा सुचारु भएको छ। आज भएको सहमतिमा घटनाको छानबिनका लागि समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने भएको छ । समितिमा मन्त्रालबाट तोकिएका चिकित्सक २ जना, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि १ र पीडित पक्षबाट १ जना रहनेछन् । यस्तै, अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीहरुको व्यवहारगत पक्षमा सुधार गर्ने सहमति भएको छ ।

पीडित पक्षबाट मृतकका जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुल बहादुर गुरुङले हस्ताक्षर गरेका छन् । अस्पतालका तर्फबाट अध्यक्ष सतिश ढकाल र निमित्त मेडिकल सुपरिन्डेटेन्ट उमेश प्रधानले हस्ताक्षर गरेका छन् ।
आन्दोलनपछि स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका थिए । आक्रोशित स्थानीयले बीपी राजमार्गसमेत अवरुद्ध गराएका थिए । प्रहरीले मंगलबार र बुधबार २६ राउण्ड अश्रु ग्यास दुई राउण्ड एसएलआरबाट ब्लाङ्क राउड प्रहार गरेर घटनालाई नियन्त्रणमा लिने प्रयत्न गरेको सिन्धुली जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चिरञ्जिबी दाहालले जानकारी दिए । घटनामा चार जना प्रहरीहरु समेत घाइते भएका छन् । मंगलबार मृतकका आफन्त तथा परिवार आक्रोशित भएपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको थियो।
मृतकका आफन्तले डाक्टरले उपचारका क्रममा प्रयोग गरेको इन्जेक्सनमा शंका व्यक्त गरेकाले छानबिनका लागि समिति बनाइएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बुधबार बिहानैदेखि सहमति गराउने प्रयत्न भएको थियो ।त्यसै अनुरुप घटना छानबिन गरी दोषिमाथि कारबाही हुने सहमति भएको हो । मृतकको शव सिन्धुली अस्पतालमा पोष्टमार्टम गरी मृतकका आफन्तले जिम्मा लिइसकेका छन् ।




















प्रतिक्रिया