एजेन्सी । झारखण्डको सबैभन्दा ठूलो सरकारी अस्पताल राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (रिम्स)मा सोमबार दिउँसो एक महिलाले पाँचवटा छोरीलाई जन्म दिएकी छन् ।
विवाहको सात वर्षपछि सन्तान जन्माएको भन्दै आमा अंकिता कुमारी र बाबु प्रकाशकुमार साव खुशी छन् । तर, यो खुशीले उनीहरुका लागि धेरै चिन्ता पनि ल्याएको छ ।
अहिले बालिका र आमाको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । तर, उनले आगामी केही साता अस्पतालमै बिताउनु पर्ने छ । उनीहरुका बालिकालाई दुई फरक अस्पतालको नवजात शिशु सघन उपचार इकाई (एनआईसीयू) मा भेन्टिलेटर सपोर्टमा राखिएको छ । अंकिता कुमारी गत वैशाख ७ गतेदेखि रिम्सको स्त्री रोग तथा प्रसूति विभागका प्रा डा शशिबाला सिंहको इकाईमा भर्ना भएकी छिन् । प्रि–नेटल चेकअप पछि, डाक्टरले उनलाई एक भन्दा बढी बच्चाहरु गर्भमा भएको बताए।
उनी चिकित्सकको निगरानीमा थिइन् । वैशाख २२ गते दिउँसो उनलाई एक्कासी सुत्केरी पीडा भयो र आधा घण्टामा एक एक गरी पाँच छोरीलाई जन्म दिइन् । उनको उपचारमा संलग्न डा. शशिबाला सिंहको टोलीमा रहेका डा बुलुप्रियाले रिम्समा पहिलो पटक एकैसाथ पाँच सन्तान जन्मेको बताए । यसअघि यहाँ एक महिलाले चार सन्तानलाई जन्म दिएकी थिइन् । अहिले त्यो रेकर्ड तोडिएको छ ।
डा. बुलुप्रियाले भनिन्, ‘यस्ता केसहरू बेलाबेलामा आउँछन् तर यस्तो हुनु अचम्मको कुरा होइन। देश र विश्वमा यस्ता प्रसवहरू भइरहेका छन्। पाठेघरमा एकभन्दा बढी डिम्ब बन्ने यो सामान्य प्रक्रिया हो। यसबाट कुनै खतरा छैन तर भ्रूणको संख्या बढी भएमा समयपूर्व सुत्केरी हुने र बच्चा जन्मदा तौल कम हुने जस्ता गुनासोहरू पाउन सकिन्छ। अंकिताको केसमा पनि त्यस्तै भयो। उनको सातौं महिनामा नै बच्चा जन्माउनु पर्यो। जसका कारण उनको बच्चाको तौल कम छ। बच्चाहरुको फोक्सो कमजोर छ। त्यसैले बच्चा र आमालाई डाक्टरको निगरानीमा राख्नुपरेको छ ।’ डा. बुलुप्रियाले अंकिता आईभीएफ प्रविधिबाट गर्भवती भएको बताइन् ।
उनले भने, ‘प्राकृतिक माध्यमबाट अभिभावक बन्न नसक्नेहरूका लागि आइभीएफ चमत्कारभन्दा कम छैन । ‘अंकिता सात वर्षसम्म आमा बन्न सकेकी थिइनन्। त्यसैले हजारीबागको एक अस्पतालबाट आइभीएफ गराइन्। उनी धेरै महिनादेखि त्यहीँ डाक्टरको निगरानीमा थिइन्। त्यहाँ गरिएको परीक्षणले उनी गर्भवती भएको थाहा भयो। एक भन्दा बढी बच्चाहरु रहेको थाहा भयो, त्यसपछि उनलाई रिम्स अस्पताल रेफर गरियो।’
‘उनी गर्भावस्थाको २८ औं हप्तामा हामीकहाँ आइन्। उनको प्रिटरम डिलिवरी भयो। राम्रो कुरा यो हो कि उनले सामान्य डेलिभरी मार्फत बच्चा जन्माइन्। उनको शल्यक्रिया गर्नुपरेको थिएन। हाम्रा सिनियर डा. निलम र उनको टोलीले अंकितालाई सुत्केरी गराए। यस अवधिमा अंकिताको अवस्था सामान्य रह्यो। यदि यो अवस्था जारी रह्यो भने, उनी केही हप्तापछि अस्पतालबाट डिस्चार्ज हुनेछन्। तर, उनीहरूका बच्चाहरूले अझै केही हप्ता अस्पतालमा बिताउनु पर्ने हुन सक्छ।’

अंकिता र प्रकाश
२७ वर्षीया अंकिता झारखण्डको चतरा जिल्लाको मलकापुर गाउँकी बासिन्दा हुन् । यो इटखोरी ब्लकको एक हिस्सा हो। उनका श्रीमान् प्रकाश साउले गाडामा फलफूल बेच्छन् । पहिले उनी होटलमा काम गर्थे । जागिर गुमाएपछि फलफूल बेच्न थाले । प्रकाश साउले भने, ‘मैले एकैपटक पाँच छोरी हुन्छन् भनेर कहिल्यै सोचेको थिइनँ। विवाहको यति दिनपछि बच्चा जन्मियो, त्यसैले हामी खुशी छौं तर अहिले यी बालबालिकाको जीवन बचाउने चिन्ता पनि छ। रिम्स अस्पतालको एनआईसीयू शैया उपलब्ध नहुँदा मैले मेरा दुई नवजात छोरीहरूलाई राँचीको निजी अस्पतालमा भर्ना गर्नुपर्यो। बाँकी तीन छोरीहरू रिम्स अस्पतालमै छन्।’
उनले थप भने, ‘मेरो प्रश्न यो छ कि मेरी श्रीमती १६ दिन अघिदेखि यहाँ भर्ना हुँदा रिम्स अस्पतालले किन मेरा छोराछोरीका लागि बेडको व्यवस्था गरेनन्। मेरी श्रीमती पाँच सन्तानकी गर्भवती छिन् भन्ने सबैलाई थाहा थियो। हिजो राति अचानक मलाई दुई बच्चा अन्तै लैजान भनियो। यहाँ एनआईसीयूमा ठाउँ नभएकोले निजी अस्पतालमा भर्ना गराउन बाध्य भएँ । म गरिब मान्छे हुँ, मलाई निजी अस्पतालमा खर्च गर्न निकै गाह्रो छ।’
रिम्स व्यवस्थापनले प्रकाशको आरोपमा कुनै आधिकारिक टिप्पणी गरेको छैन, तर बाल रोग विभागमा कार्यरत डाक्टरहरू एनआईसीयू बेडहरू पहिले नै भरिएको बताउँछन्। त्यसैले तत्काल निजी अस्पतालको एनआईसीयूमा आफ्ना दुई सन्तानलाई मात्र भर्ना गर्न सुझाव दिइएको बताउँछन् ।
एक वरिष्ठ डाक्टरले नाम न नाम नखु्लाउने शर्तमा भने, ‘एनआईसीयूमा सीमित संख्यामा ओछ्यानहरू छन् र तिनीहरू पहिले नै अन्य नवजात शिशुहरूले ओगटेका छन्। उनीहरू पनि गम्भीर अवस्थामा भर्ना भएकाले उनीहरूलाई फर्काउन सकिँदैन। अंकिताको मामलामा, भेन्टिलेटर वा इन्क्युबेटर पहिल्यै रिजर्भ भएकाले भर्ना लिन नसकिएको हो।श्रीमान् पंकज साउको आरोप सही छैन। आफ्ना छोराछोरीको ज्यान बचाउनको लागि यस्तो सल्लाह दिइएको हो। हाम्रो प्राथमिकता बालबालिकाको उपचार हो, होइन र ? कसैको विरुद्ध भेदभाव हैन।’
गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार एकैपटक सबैभन्दा बढी बच्चा जन्माउने कीर्तिमान मोरक्कोकी हलिमा सिसेको नाममा छ । मे २०२१ मा उनले सँगै ९ सन्तानलाई जन्म दिइन् । जसमा ५ केटी र ४ केटा थिए ।
याे स्टाेरी बीबीसीबाट रामचन्द्र मिश्रले अनुवाद गर्नुभएकाे हाे ।
प्रतिक्रिया