काठमाडौं । धनगढी उप-महानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइलमार्फत नै थाहा पाउने भएका छन् ।
धनगढी उप-महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । उनका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको छ ।
फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन “समाजका लागि युवा” संस्थासँगको सहकार्यमा उप-महानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो ।
धनगढी उपहानगरपालिकाका वातावरण इञ्जिनियर अशोक अवस्थीले गएको शनिबारबाट दुईवटा ट्याक्टरमा प्रविधि जडान गरेर काम सुरु भएको बताए । उनले प्रविधि सञ्चालन गर्न समाजका लागि युवा नामक संस्थाले सहयोग गरेको बताए । लुना एपमार्फत यो प्रविधि सञ्चालित भएको छ ।
लुना एप डाउनलोड गरेर धनगढी उपमहानगरको गार्बेज सेक्सनमा गएर हेर्न फोहोर संकलनको गाडी कहाँ छ र आफ्नो ठाउँमा कहिले आउँछ भनेर जान्न सकिन्छ । एप डाउनलोड गरेर प्रयोग गर्नेहरुकोमा फोहोर लिन आउने गाडी कहाँ छ र अब कताको बाटो आउँछ भन्ने विषय जानकारी हुन्छ । एप डाउलोड गर्ने र यो सुविधामा सहभागी हुनेहरुको मोबाइलमा घर नजिकै फोहोर संकलनको गाडी आउँदा मोबाइलमा नोटिफिकेसन आउने व्यवस्था गरिएको अवस्थिले जानकारी दिए ।
उनले यो प्रविधिले अफिसबाट पनि मोनिटरिङ गर्न सहज हुनेछ । नागरिकहरुले फोहोर संकलनको गाडी कहाँ छ र मेरोमा कहिले आउँछ भन्ने विषय प्रविधिको प्रयोग गरेर हेर्न सकिने व्यवस्था छ । यसले फोनमा कम्प्लेन गर्न आवश्यक समय बचाइदिने अवस्थीले बताए ।
प्रतिक्रिया