काठमाडौं । नेपालका रेडियो सञ्चालकका संस्थाहरूले गीत सङ्गीतका स्रष्टाहरूका लागि आफूहरूले बुझाउने गरेको रोयल्टी वितरणलाई पारदर्शी बनाउन माग गरेका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) र रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ)ले सोमबार पत्रकार सम्मेलन गरी एफएम रेडियोहरूले तिरिरहेको रोयल्टी वितरण पारदर्शी बनाउन माग गरेका हुन् ।
आर्थिक वर्ष २०७५/७६ देखि रोयल्टीको तिरिरहेको तर वितरण अपारदर्शी भएकाले यसलाई पारदर्शी, व्यवस्थित र वैज्ञानिक बनाउन रेडियो सञ्चालक संस्थाहरुको माग छ । उनीहरूले सङ्गीत रोयल्टी समाजले आफ्ना सदस्यलाई मात्र रोयल्टी वितरण गर्दै आएको र यसले अन्य स्रष्टालाई अन्याय गरेकाले त्यसमा सरकारी निकायको सहभागिता हुनुपर्ने माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले देशभरका रेडियोहरू रोयल्टी तिर्न तयार रहेको तर रोयल्टी वितरणमा राज्यको उपस्थिति अनिवार्य गर्नुका साथै वितरण प्रणालीलाई व्यवस्थित पारदर्शी र वैज्ञानिक हुनुपर्नेमा जोड दिए ।
ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईले विगतमा भएका सहमति कार्यान्वयन नभएको र रोयल्टी वितरणमा केही सीमित व्यक्तिको हालीमुहाली रहेकाले अहिलेकै अवस्थामा रेडियोले रोयल्टी नतिर्ने बताए ।
रेडियो ब्रोडकास्टर्स फोरमका अध्यक्ष आरके श्रेष्ठले रोयल्टी वितरणमा सिन्डिकेट रहेको र यो नतोडिएसम्म आफूहरूले रोयल्टी नबुझाउने बताए ।
तीनवटै संस्थाले एक गैरसरकारी संस्थालाई रोयल्टी बुझाउन लगाउने र त्यसलाई रेडियोको नवीकरणसँग जोड्ने अवैधानिक काम राज्यले गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।





















प्रतिक्रिया