Logo

अर्थ

नियमले बाँधेपछि काठमाडौं महानगरबाट निजी विद्यालयले सार्न थाले स्थान र स्वामित्व



काठमाडौं । काठमाडौं महानगरपालिकामा शिक्षा नीति कार्यान्वयनमा कडाईँ गरिएपछि महानगरभित्र रहेका संस्थागत विद्यालयले स्थान परिवर्तन गर्न निवेदन दिन थालेका छन् ।

महानगरले निजी विद्यालयलाई नियमन गर्नका लागि शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएपछि काठमाडौं महानगर छाडेर उपत्यकाकै अन्य पालिकामा विद्यालयको स्थानान्तरण गर्न विद्यालय सञ्चालकहरुले निवेदन दिएका छन्। महानगरको शिक्षा विभागले मंगलबार निकालेको विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन दाबी विरोध सम्बन्धी सूचनामा भएका ६ विद्यालयमध्ये तीन वटाले काठमाडौंबाट अन्य पालिकामा जान खोजेका छन्।

सूचनामा काठमाडौं महानगरपालिका–१५ स्वयम्भूमा रहेको निर्भाणा एकेडेमी नागार्जुन नगरपालिका–५ मा जान खोज्दा महागरकै १५ नम्बर वडा छाउनीमा रहेको काठमाडौं भ्याली स्कूल नागार्जुन नगरपालिका–९ स्युचाटारमा सर्न सर्न लागेको छ। महानगरको वडा नम्बर ६ बौद्धमा रहेको श्री बौद्ध सेकेण्डरी इङ्गलिस स्कूल गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा स्थानान्तरण हुन लागेको हो।

महानगर प्रमुख बालेन्द्र शाहले यसअघि नै विद्यालयको नाम र चिन्हमा एकरुपमा ल्याउनका लागि भन्दै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न थालेपछि विद्यालयहरु काठमाडौं महानगरपालिका नै छोड्ने तयारीमा लागेको देखिन्छ ।

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नामको सम्बन्धमा पब्लिक शब्द जोडेका विद्यालयमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने, नेशनल शब्द जोडेका विद्यालयमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र इन्टरनेसनल शब्द जोडेका विद्यालयमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने नियमलाई कार्यान्वयन गरिरहेको छ । यो नियमअनुसार चलाउन गाह्रो भएको विद्यालयहरुले विकल्प खोजिरहेको देखिन्छ ।

No description available.

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १४:५९   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।