Logo

प्रमुख समाचार

घडीभित्रका पुर्जामा लुकाएर पनि सुन तस्करी



काठमाडाैं । राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ ।

ती कम्पनीले ‘ब्रेक सु’का अतिरिक्त घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको खुलेको हो । विभिन्न मितिमा दर्ता भएका फरकफरक ती कम्पनीका मालिक पनि फरकफरक देखाइएको छ ।

सिआइबी स्रोतका अनुसार विकेन्द्र भुजेल, रामकुमार भुजेल, लेखनाथ कार्की डोली, रामबहादुर भुजेल, दिलीप भुजेललगायतका नाममा सातवटा कम्पनी खोलेर सुन तस्करी गरिएको पाइएको छ। कार्कीका नाममा खोलिएको चुङ्गक इलेक्ट्रिक सप्लायर्स कम्पनीले विद्युतीय सामानसँगै सुन तस्करी गरेको स्रोतको दाबी छ । प्रहरी स्रोतका अनुसार उक्त कम्पनीको ठेगाना काठमाडौंको बौद्ध राखिएको भए पनि त्यहाँ कार्यालय फेलापरेको छैन ।

भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिको ठेगाना सुकेधारा राखिएको छ तर त्यहाँ कार्यालय छैन । ह्वादा इलेक्ट्रिक सप्लायर्स कम्पनी सामाखुसीमा र पवाटी इलेक्ट्रिक सप्लायर्सको कार्यालय बाँसबारीमा देखाइएको छ । दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिले विद्युतीय सामान, ब्रेक प्याड र घडीमा तस्करीको सुन राखेर ल्याउने गरेको पाइएको छ । त्यस्तै दिलीप भुजेलका नाममा खोलिएको रेडी ट्रेड प्रालिमार्फत् ब्रेक प्याडमा राखेर सुन ल्याइएको खुलेको छ। तस्करले सरिता तामाङका नाममा पनि सरिता सप्लायर्स नामक कम्पनी दर्ता गराएको खुलेको छ। भुजेल दाजुभाइका नाममा पाँचवटा कम्पनी छन् ।

‘घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको पाइएको छ, पानी पम्प र घडीभित्र सुन राखेर ल्याइएको एक चिनियाँले बयानमा स्वीकार गरेका छन्’, सिआइबी स्रोतले भन्यो ।

चिनियाँ गिरोहले भित्र्याएको सुनलाई ‘कचौरा’ र ‘अम्खोरा’ बनाएर भारत पुर्याउने गरेको पाइएको छ। सीमापारि सुन पुर्याउन खासगरी भारतीय महिलालाई ठमेलका होटेलमा राख्ने, पशुपतिनाथको दर्शन गराउने र स्वदेश फर्कंदा एक एकवटा सुनसहितका कचौरा र अम्खोरा दिएर पठाउने गरेको पाइएको छ । त्यस्ता अम्खोरा र कचौराको भित्रपट्टि सुन राखेर तामा र पित्तलको जलपले छोपेर तस्करले सीमा कटाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

भारततिर सुन ओसार्न लगाइएका केही महिलालाई सिआइबीले पक्राउ गरेको भए पनि उनीहरूले मूल कारोबारी खुल्ने बयान दिएका छैनन् । ‘सिआइबीका एक अधिकारीले भने, ‘अनुसन्धान हुँदैछ, उनीहरू भारतीय हुन्।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ०९:१८   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।