Logo

प्रवास

साउदीमा १ सय ७७ नेपालीलाई २९ करोडको जरिवाना



साउदी । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार।

त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ । अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ। कमाउन आएको परदेशमा उल्टै जरिवाना तिर्न नसकेर बन्धक बन्नुहोला ।

तपाईंसँग साउदीको अनुमति ‘अकामा आईडी’ छ। तपाईंको नामबाट अरू कसैले सिमकार्ड निकाल्यो भने पनि जरिबानाको फन्दामा पर्नुहोला । यी र यस्ता विषयमा ध्यान नदिँदा १ सय ७७ जना नेपालीले ठूलो जरिबाना तिर्नुपर्ने भएको छ। उनीहरूलाई २९ करोड ५४ लाख ६० हजार रुपैयाँ  (८६ लाख ९० हजार साउदी रियल) जरिबाना तोकिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली कामदारको मुख्य आकर्षक मानिन्छ, साउदी। यहाँका नीति र नियमको पालना नगर्दा कमाउन आएका नेपाली कामदारहरू उल्टै जरिबाना तिर्नुपर्ने अवस्थामा पुगेका छन। खाडी मुलुकमध्ये नेपालीका लागि दोस्रो ठूलो मुलुकमा पर्छ, साउदी ।

साउदीमा आउने नेपाली कामदारको संख्या र माग धेरै छ । तर, नेपालमा गरिने सम्झौता र साउदीमा पुगेपछि हुने सम्झौतामा सेवा र सुविधामा निकै भिन्नता हुने गर्छ । ‘फ्रि भिसा फ्रि टिकट’ भन्ने गरिए पनि साउदी आउने कामदारसँग म्यानपावर कम्पनीले १ लाख देखि २ लाखसम्म उठाउने गर्छन् ।

अर्कोतिर नेपालमा हुने सम्झौताअनुसार साउदीमा तलब र सेवासुविधा पाइँदैन। त्यसैकारण नेपाली कामदार आफू कार्यरत कम्पनीबाट भाग्ने गर्छन् । त्यसरी भागेपछि उनीहरू स्वतः अवैधानिक कामदार बन्छन् । अनि, सम्बन्धित कम्पनीले विभिन्न बहानामा भागेका कामदारविरुद्ध मुद्दा हाल्ने र लाखौं रियल जरिबाना तिर्न बाध्य बनाउने गरेका छन् ।

सम्झौताअनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परेर आफू कार्यरत कम्पनी छाडेर भाग्दा सम्बन्धित कम्पनीले प्रत्येक व्यक्ति २ हजारदेखि ३ लाखसम्म जरिबाना तोकेर मुद्दा दायर गर्छन् । कतिपय मुद्दामा अदालतको फैसला प्रक्रियामा उपस्थित नहुँदा अदालतको फैसलाअनुसार जरिबाना बढ्दै जान्छ ।

अर्कोतिर, वैधानिक रूपमा कार्यरत नेपालीले पनि आफ्नो ‘अर्कामा आईडी’बाट साउदीमा मोबाइल सिम किन्ने र त्यस्ता सिम अरूलाई पनि प्रयोग गर्न दिने गरेकाले लाखौं रियलको जरिबाना तिर्नुपर्ने अवस्था छ ।

एक व्यक्तिको नामको रहेको ‘अकामा आईडी’ को प्रयोग गरेर १० ओटासम्म मोबाइल सिमकार्ड निकाल्ने र अरूले नै दुरुपयोग गर्ने क्रम पनि बढेको छ । त्यस्तो भयो भने जसको आईडीबाट सिमकार्ड निकालेको हो, उसले ५ हजार देखि २ लाख साउदी रियलसम्म जरिबाना तिर्नुपर्ने अवस्था रहेको यहाँस्थित दूतावासले जनाएको छ । त्यसैकारण दूतावासले साउदीमा कार्यरत नेपालीलाई आफूले चिनेका र सम्बन्धित कम्पनीमा काम गर्नेबाहेक अरू कसैलाई आफ्नो अकामा आईडी वा कपी नदिन आग्रह गरेको छ।यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ०९:५८   :  बजे

435
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।