काठमाडौं । झापाको गिरिबन्धु टि–स्टेट कम्पनीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठेको छ।
सो काण्डमा ओलीको संलग्नता रहे पनि सरकारले छानबिनको दायरामा ल्याउन नसकेको भन्दै सांसदहरूले पटकपटक कुरा उठाउँदै आएका थिए । सोही विषयमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत छलफल भएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचारका विभिन्न प्रकरण आएको बताउँदै गिरीबन्धु टि–स्टेट प्रकरणबारे छानबिन अघि बढाउनुपर्ने बताए । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचारसम्बन्धी जुनसुकै प्रकरणमा समितिमा छलफल र आवश्यक निर्देशन हुनुपर्नेमा जोड दिए ।
झापाको बिर्तामोडमा रहेको महँगो जग्गा सट्टापट्टा गरी ‘प्लटिङ’ गरेर बेच्ने तयारी गरिएको गिरीबन्धु ‘टि–स्टेट’ प्रालिको विषयमा छानबिन हुनुपर्ने सोही समितिका सभापति रामहरि खतिवडाले सोमबारको संसद् बैठकमा बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ऐन संशोधन गरेर जग्गा बेच्ने तयारी गरेको भन्दै उक्त विषयमा सर्वत्र टिप्पणी हुन थालेको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
















प्रतिक्रिया