Logo

अन्तर्राष्ट्रिय

विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने छ : प्रधानमन्त्री



न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताए ।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए। उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप समेत लगाए ।

अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पंतिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै अव त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता पनि गरेका छन्। महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनै परेको बताए । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ०९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।