Logo

समाचार

यातायातमा अनलाइन भुक्तानी सेवा बन्द : सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती



काठमाडौं । सवारीसाधनको नवीकरण र सवारी करमा अनलाइन भुक्तानी प्रणाली बन्द हुँदा सर्वसाधारणले दुःख पाएका छन् भने बिचौलियालाई लाभ मिलेको छ ।

दुई वर्षअघि सुरु भएको अनलाइन सेवा गत १ साउनदेखि बन्द भएसँगै यातायात कार्यालयहरूमा सेवाग्राहीको भिड बढेको हो ।

०७८ साउनदेखि बागमती प्रदेश सरकारले अनलाइनबाटै सवारी कर र नवीकरण दस्तुर तिर्ने प्रणाली सुरु गरेको थियो । अनलाइन भुक्तानी बन्द हुँदा बिचौलिया सक्रिय भएका छन् । ब्लु बुक नवीकरणका लागि कतिपय व्यक्ति तथा कम्पनीले शुल्क नै लिएर खुलेआम यस्तो काम गर्दै आएका छन् । त्यस्ता समूहलाई यातायात कार्यालयले पनि सहयोग गर्दै आएको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात कार्यालयको कमजोरीका कारण अनलाइन भुक्तानी बन्द भएको स्रोत बताउँछ । अनलाइन भुक्तानीको सफ्टवेयर बनाउने कम्पनीसँग सम्झौता नवीकरण नहुँदा सेवा बन्द भएको हो । मन्त्रालयले यति सानो विषयमा पनि गम्भीरता नदेखाउँदा लाखौँ सर्वसाधारणले दुःख पाएका छन् ।

‘यो प्रदेश मन्त्रालयको निकम्मापनको परिणाम हो,’ यातायात कार्यालयका एक कर्मचारी भन्छन्, ‘सफ्टवेयर कम्पनीसँग नवीकरणको विषय पहिले नै जानकारी हुन्छ, त्यति सानो कुरामा पनि ध्यान नदिनु उदेकलाग्दो छ ।’

प्रदेश यातायात मन्त्रालयका सचिव तीर्थराज भट्टराई नवीकरण नहुँदा हाल अनलाइन सेवा बन्द भएको र छिट्टै सञ्चालन गर्ने बताउँछन् । आफू पनि प्रदेश मन्त्रालयमा नयाँ भएको र अनलाइन भुक्तानी सेवालाई सञ्चालन गर्न लागिएको उनले बताए ।

मन्त्रालयले लाखौँ खर्च गरी ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’ बनाएको थियो । सो सिस्टममा आफ्नो सवारीसाधनबारे विस्तृत विवरण भरेपछि अनलाइनमार्फत भुक्तानी दिन मिल्ने सुविधा थियो । पैसा तिरेपछि छाप लगाउन मात्र यातायात कार्यालय गए हुन्थ्यो । साउनदेखि यातायात कार्यालयमै गएर पैसा तिर्नुपर्ने बाध्यता छ ।

सवारी नवीकरण तीन महिना कटेको भोलिपल्टै दोब्बर तथा नयाँ आर्थिक वर्ष सुरु भएपछि चार गुणा धेरै लिने गरिएको छ । अनलाइन भुक्तानी नहुँदा धेरै सेवाग्राही चर्काे जरिवाना तिर्न बाध्य हुने गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार  ९ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।