काठमाडाैं । काठमाडौं उपत्यकामा आजदेखि द्रुत बस सेवा सञ्चालन आउने भएकाे छ ।
संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो । सुरूमा २५ वटा बसबाट सुरू गरिने यो सेवा छुट्टै लेन (रातो रङले छुट्टयाइएको)मा सञ्चालन हुने छ ।
बुधबार उद्घाटन गरिने र बिहीबारबाट यात्रुहरूले उपयोग गर्न पाउने बताइएको छ । यातायात व्यवस्था विभागका अनुसार बुधबार उद्घाटन हुने र बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन् ।
यी बस गुड्नका लागि अहिले सडकका दुबै भागमा छुट्टै लेन बनाइसकिएको छ ।
पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन् । त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लिने छन् ।
विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने छैनन् ।
द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् ।
















प्रतिक्रिया