Logo

प्रमुख समाचार

एमाले वाग्मती प्रदेश अधिवेशन आजदेखि, यी हुन् अध्यक्षका आकांक्षी



काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै छ ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले वाग्मती प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । वाग्मती प्रदेश कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव समेत गरी २२० जनाको कमिटी बन्ने छ ।

संघीय संरचनामा गएपछि पहिलो पटक एमालेमा वाग्मती प्रदेश अधिवेशन हुन लागेकाे हाे । सहमतिमा नेतृत्व चयनका लागि छलफल चलेपनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ ।

यद्यपि, सहमतिमा नेतृत्व खोज्न छलफल जारी रहेको नेताहरूले बताएका छन् ।

अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन् । त्यसरी नै वाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका दाबेदार छन् ।

आकांक्षी धेरै भए पनि मकवानपुरका दाहाल, रामेछापका ढुंगेलबीच प्रतिस्पर्धा करिब निश्चित रहेको एमाले स्रोत बताउँछ ।

पोखरेलले अन्तिम समयमा दाहाललाई साथ दिने संकेत गरेसँगै दुईबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

विगतमा ओली पक्षमै रहेका दाहाल पछिल्लो समय ‘बालकोट’ले नरुचाएको सूचीमा पर्छन् । ढुंगेललाई भने ओलीले नै अघि सारेको एमालेका नेताहरु बताउँछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ०७:१४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।