काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै छ ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले वाग्मती प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । वाग्मती प्रदेश कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव समेत गरी २२० जनाको कमिटी बन्ने छ ।
संघीय संरचनामा गएपछि पहिलो पटक एमालेमा वाग्मती प्रदेश अधिवेशन हुन लागेकाे हाे । सहमतिमा नेतृत्व चयनका लागि छलफल चलेपनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ ।
यद्यपि, सहमतिमा नेतृत्व खोज्न छलफल जारी रहेको नेताहरूले बताएका छन् ।
अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन् । त्यसरी नै वाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका दाबेदार छन् ।
आकांक्षी धेरै भए पनि मकवानपुरका दाहाल, रामेछापका ढुंगेलबीच प्रतिस्पर्धा करिब निश्चित रहेको एमाले स्रोत बताउँछ ।
पोखरेलले अन्तिम समयमा दाहाललाई साथ दिने संकेत गरेसँगै दुईबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
विगतमा ओली पक्षमै रहेका दाहाल पछिल्लो समय ‘बालकोट’ले नरुचाएको सूचीमा पर्छन् । ढुंगेललाई भने ओलीले नै अघि सारेको एमालेका नेताहरु बताउँछन् ।





















प्रतिक्रिया