Logo

अन्तर्राष्ट्रिय

इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा अड्किएका २७ भारतीय नागरिक पुगे इजिप्ट



एजेन्सी । भारतले इजरायल र प्यालेस्टाइनबीचको युद्ध भएको ठाउँमा अड्किएका २७ जना आफ्ना नागरिक इजिप्ट पुगेको बताएको छ ।

भारतीय मेघालय प्रान्तमा मुख्य मन्त्री कोनराड के शर्माका अनुसार २७ जना भारतीय नागरिकलाई द्वन्द्वग्रस्त क्षेत्रबाट इजिप्ट लगिएको जानकारी दिएका छन् । उनले एक ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । त्यस्तै इजरायलमा युक्रेनका दुईजना नागरिकहरु पनि मारिएको जनाइएको छ । युक्रेनले दिएको जानकारी अनुसार लामो समयदेखि इजरायलमा बसिरहेको दुईजना युक्रेनी महिनाहरु पछिल्लो पटकको हमलामा मारिएका हुन् ।

त्यस्तै युकेका दईजना नागरिक पनि इजरायलको युद्धमा मारिएको अधिकारीहरुले बताएका छन् । इजरायली समाचारहरुका अनुसार अहिलेसम्म छ सयभन्दा बढी इजरायली नागरिकहरुको युद्धमा ज्यान गइसकेको छ । युद्ध अझै चर्किरहेको छ । यो सँगै विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई देश फर्काउन थालेका छन् ।

विशेष विमानमार्फत पोल्याण्डले इजरायलबाट आफ्ना नागरिकलाई उद्दार गर्न सुरु गरेको छ । उसले यूरोपियन युनियनका अन्य देशहरुका नागरिकलाई पनि युद्धमा होमिएको इजरायलबाट उद्दार गर्ने भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रायसीले प्यालेस्टाइनी चरमपन्थी संगठन हमास र इस्लामिक जिहादका नेताहरूसँग कुराकानी गरेका छन्। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हालैका घटनाक्रमपछि इरानका राष्ट्रपतिले चरमपन्थी संगठनका नेताहरूसँग कुराकानी गरेका हुन्। यद्यपी नेताहरुबीच के भयो भन्ने बारेमा भने कुनै जानकारी आएको छैन । हमासलाई इरानको समर्थन छ, जसले उसलाई पैसा, हतियार र तालिम दिन्छ।

पाेप फ्रान्सिसद्वारा शान्तिकाे अपील

इजरायल र प्यालेस्टाइन द्वन्द्वका बीचमा पोप फ्रान्सिसले शान्तिको अपील गरेका छन् । पोपले आतंकवाद र युद्धले कुनै पनि समस्याको समाधान नदिने बताए । उनले भने, ‘इजरायलमा भड्किएको हिंसा र त्यसबाट सयौंको ज्यान गएको देखेर म दुःखी छु । मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दछु । म तिनीहरूका लागि र आतंक र पीडाको अनुभव गरिरहेका सबैका लागि प्रार्थना गर्दछु।

पोपले दुवै पक्षलाई थप द्वन्द्वबाट टाढा रहन आग्रह गरेका छन् । उनले भने, “कृपया आक्रमण र हतियार बन्द गर्नुहोस्, र बुझ्नुहोस् कि आतंकवाद र युद्धले कुनै समाधान गर्दैन तर धेरै निर्दोष मानिसहरूको मृत्यु र पीडा मात्र निम्त्याउँछ।” युद्ध हार हो, हरेक युद्ध हार हो।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १९:१९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।