Logo

प्रमुख समाचार

टिकट बुकिङ : १५ घण्टा लाइनमा उभिएपछि बसकाे टिकट !



काठमाडाैं । यातायात व्यवसायीले सोमबारदेखि दशैंको लागि टिकट बुकिङ खुलाएका छन् ।

व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै मंगलबार सबेरैदेखि गोंगबुस्थित लोत्से बहुउद्देश्यीय कम्पनीले सञ्चालन गर्दै आएको नयाँबसपार्कमा टिकट बुकिङ गर्न सर्वसाधारणको घुइँचो लाग्यो।

सर्वसाधारणको अत्यधिक भीडले टिकट काट्ने स्थानमा हानाथाप भइरहेको दृश्य पनि देखिन्थ्यो।

सोमबार नयाँबसपार्कमा टिकट बुकिङ गर्न गएका अमर बडुवालले पनि निकै सास्ती खेप्नुपरेको गुनासो सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेका छन्। ‘म त्यो देशको नागरिक हुँ, जहाँ बसको टिकट लिन दुई दिनसम्म लाइन लाग्नुपर्छ। करिब १५ घण्टा भोकभोकै उभिएपछि टिकट पाइयो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै भनेका छन्, ‘अब फेरि दुई दिन (कम्तीमा २४ देखि २८ घण्टा) यात्रा गरेपछि आफ्नो देश (सुदूरपश्चिम) पुगिन्छ। सबैको जय होस।’ उनी मात्रै होइन्, बिहान सबेरै टिकट काट्न गएका धेरैजसो यात्रुले सहजै टिकट बुकिङ गर्न सकेका छैनन्।

लामो दूरीका सार्वजनिक सवारी साधनको टिकट काट्ने यात्रुको भीडभाड देखिन्थ्यो। आधिकारिक रूपमा नयाँबसपार्कमा टिकट काट्ने व्यवस्था भए पनि अन्य स्थानमासमेत सार्वजनिक बसको टिकट काट्ने क्रम चलिरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आइतबारदेखि लामो र मध्यम दूरीको गन्तब्यको बसको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको बताए।

‘बिहान सबेरैदेखि सर्वसाधारण अग्रिम टिकट बुकिङको लागि आइरहनुभएको छ,’ उनले भने, ‘हामीले पनि व्यवस्थित ढंगले अग्रिम टिकट बुकिङ गर्ने व्यवस्था गरिरहेका छौं।’ सर्वसाधारणले भने अग्रिम टिकट बुकिङ खुल्ला भएको दिन पनि भनेजस्तो टिकट नपाइरहेको गुनासो गरिरहेका छन्।

महासंघका अध्यक्ष स्वाँरले सबै व्यक्तिले अगाडिको सिट मात्र खोज्ने प्रवृत्ति देखिएको बताए। ‘हामीले सबैलाई अगाडिको सिट मात्रै कहाँ उपलब्ध गराउन सक्छौ र?’ उनले भने, ‘एउटा बसको सबै टिकट बुकिङ सकिएसँगै अर्काे बसको टिकट बुकिङ खुल्ला गर्ने गर्छाैं। यातायात व्यवसायीका अनुसार यो वर्ष दशैं मनाउन १० देखि १६ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। अहिले दैनिक एक हजारको हाराहारीमा सार्वजनिक बस चल्दै आइरहेका छन् तर दशैंमा भने २-३ हजार सार्वजनिक बस सञ्चालनमा आउने बताइएको छ।

असोज १९ गते बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि सार्वजनिक यातायातको टिकङ बुकिङ खुला गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सोमबारदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुला गरिएको हो।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ८ : ५४ बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।