काठमाण्डाै । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट उद्धार गरिएका विद्यार्थीहरुले आफूहरुलाई तत्काल स्वदेश फर्काउन आग्रह गरेका छन् । आफूहरुलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको भन्दै उनीहरुले तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।
आफूहरु सुरक्षित ठाउँमा रहे पनि मानसिक र शारीरिक रुपमा कठिन अवस्थामा रहेकाले उद्धारमा ढिलाइ नगर्न उनीहरुले सामाजिक सञ्जालमार्फत् सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
द्वन्द्व प्रभावित क्षेत्रमा रहेका अन्य देशका विद्यार्थीहरुको उद्धार भइसकेको तर नेपालीको मात्रै उद्धार हुन ढिलाइ भएको भन्दै विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयले जहाज पठाउने तयारी भइरहेकाे बताएकाे छ ।
मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा इजरायलमा रहेको नेपाली दूतावास र इजरायलको विदेश मन्त्रालयसँग छलफल भइरहेको छ । परराष्ट्र मन्त्रालयका सह–सचिव शरदराज आरणले पनि नेपाली विद्यार्थीलाई नेपाल ल्याउने तयारी भइरहेकाे र त्यसका लागि जहाज पठाउने तयारीमा रहेकाे बताए । त्यहाँको विदेश मन्त्रालयले पनि नेपालीलाई स्वदेश फर्काउन पूर्णरुपमा समन्वय गर्ने प्रतिक्रिया दिएको उनले जानकारी दिए। उनीहरुलाई लिन इजरायलमा जहाज पठाउने तयारी भइरहेको भनिए पनि कहिले पठाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन ।
स्वदेश फर्कन चाहनेलाई कसरी ल्याउने भन्ने विषयमा सरकार आफैँ अलमलमा छ । इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीहरुलाई कम जाेखिम भएकाे ठाउँमा राखिएकाे विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो ।
यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ । हराइरहेका एकजनाको खोजीका उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको विज्ञप्तिमा भनिएकाे छ ।
इजरायलमा रहेकाे नेपाली दूतावासले नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशन गर्न भनेकाेमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेकाे दूतावासले जनाएकाे छ । उनीहरुमध्ये धेरै स्वदेश फर्काउन चाहेकाे बताएका छन्। इजरायलमा रहेकाे दूतावासले भने संयम रहँदै दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया