Logo

जनप्रतिनिधि

विद्यार्थीलाई हड्ताल र तालबन्दी गर्न सिकाउँदै तीनपाटन गापाका राजनीतिक दल !

शिक्षामा राजनीतिकरण नगर्न एमालेकाे चेतावनी, पढाई तहसनहस



सिन्धुली । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरको संलग्नतामा गाउँपालिका क्षेत्रको शिक्षा तहन नहस भएको एमालेले आरोप लगाएको छ । अध्यक्षप्रति बफादार नहुने शिक्षकहरुको जिम्मेवारी हेरफेर र बर्खास्त गर्दै गाउँपालिकाले शिक्षामा गलत राजनीति गरेको एमालेको आरोप छ ।

गएको चुनावमा माओवादी, समाजवादी र कांग्रेस गठबन्धन गरेर चुनाव लडेका थिए । त्यसैअनुसार ११ वडा रहेको तीनपाटन गाउँपालिकामा १ र ५ वडाबाहेक अन्य वडामा गठबन्धनअन्तर्गत कांग्रेसकै उम्मेदवारहरुले चुनाव जितेका थिए । पालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले दोस्रो कार्यकालका लागि चुनाव जितेसँगै शिक्षामा ब्यापक हस्तक्षेप गरेको एमाले पार्टी तीनपाटन गाउँपालिकाकाले आरोप लगाएको हो । गएको नयाँ शैक्षिक सत्रमा अध्यक्ष थापाले आफू निकट रहेको व्यक्तिलाई विद्यालयको प्रध्यानाध्यापक बनाउने र आफ्नो पार्टी र गठबन्धन नजिक नरहेकालाई अपायक पर्ने गरी सरुवा गरिदिएको आरोप लागेको थियो ।

गाउँपालिका अध्यक्षले भने गाउँपालिकाले नियमअनुसार विद्यार्थीको संख्या हेरेर जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । उनले भने, ‘गाउँपालिकामा रहेको अधिकार अनुसार कम विद्यार्थी भएको विद्यालयका शिक्षकलाई बढी विद्यार्थी भएका विद्यालयमा जिम्मेवारी दिएर खटाएका हौं । त्यसमा कसैलाई घर पायक परेको हुन्छ भने कसैलाई घर पायक पर्दैन । सबैलाई घरपायक हुने गरी खटाउन सम्भव पनि छैन ।’

यसअघि आफूले चाहेको शिक्षक पदपूर्तिमा नियुक्त गराउन नमानेको भन्दै गाउँपालिका अध्यक्षले गाउँपालिकामा आएकी प्रमुख प्रशासकीय अधिकृत पुष्पाकुमारी झाको सरुवा समेत गरेको आरोप छ । थापाले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन् । अहिले फेरि तीनपाटन गाउँपालिकाको वडा नम्बर ३ मा रहेको पाटनदेवी माविका प्रध्यानध्यापक शुक्रबहादुर तामाङलाई अध्यक्ष थापाको निर्देशनमा बर्खास्त गरिदिएको आरोप लागेको छ । त्यस्तै आइटीका शिक्षक मनोजकुमार विकलाई पनि शिक्षकबाट हटाइदिएको आरोप अध्यक्षलाई एमालेले लगाएको छ ।

विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका उनीहरु दुवै जनाको जिम्मेवारी गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगर र तीनपाटन गाउपालिका वडा नम्बर तीनका अध्यक्ष लालबहादुर स्याङ्तानले खोसिदिएको एमालेको आरोप छ । उता गापा अध्यक्ष थापाले भने आफूले जिम्मेवारी खोस्ने नमिल्ने बताए ।

उनका अनुसार प्रअ र शिक्षकले विद्यालय व्यवस्थापन समिति समक्ष राजीनामा दिएको र अर्का प्रअ नियुक्ति गरेर पत्र पठाएपछि सोही अनुसार काम भएको हो । तर उक्त घटनामा भने विद्यार्थीहरुले प्रअलाई राजीनामा गर्न लगाइएको भन्दै बिरोध जनाएका छन् । बिरोधमा पाटनदेवमावीका विद्यार्थीहरुले भोलिपल्टै अर्थात असोज २२ गते विद्यालयमा ताला लगाएका थिए । ताला अझैसम्म खुलेको छैन् । ताला नखुलेपछि विद्यालयको पढाई र परीक्षा अनश्चिति भएको छ ।

यस विषयमा तीनपा६न गाउँपालिका वडा नम्बर तीनका वडा अध्यक्ष स्याङ्तानसँग सम्पर्क गर्दा केही समयपछि आफै सम्पर्क गर्ने भने पनि उनले पछि फोन नै उठाएनन् । उता गाउँपालिका अध्यक्ष थापामगरले भने आफूले त्यस विषयका जानकारी नपाएको बताएका थिए।

याे पनि पढ्नुहाेस्

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १५:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।