Logo

प्रवास

साउदीमा ११ हजार नेपाली कामदार गैरकानुनी



दोहा । रोजगारीका लागि साउदी अरब पुगेर विभिन्न समयमा कम्पनी छोडेर भागेका ११ हजार १ सय २६ नेपाली अवैध रूपमा त्यहाँ कार्यरत रहेका पाइएको छ। रियादस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति रियादको सहकार्यमा आयोजित श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा दूतावासले ११ हजार १ सय २६ नेपाली अवैध रूपमा रहेको जानकारी दिएको हो ।

दूतावासका अनुसार साउदीमा करिब ४ लाखको संख्यामा नेपाली कामदार रहेकामा ४ हजार १ सय ७९ महिला, घरेलु कामदारको संख्या २ हजार ७ सय ९४, महिला घरेलु कामदार १ हजार १२ जना र पुरुष घरेलु कामदारको संख्या १ हजार ७ सय ९२ जना रहेको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त गरेपछि आवश्य कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

उता, साउदीमा गैरकानुनी रूपमा रहेका १ सय ४५ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिसा (एक्जिट भिसा)को प्रक्रिया गरिएकामध्ये १ सय ४५ जनाको एक्जिट भिसा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ । एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको छ भने विमानस्थलमा त्यही म्यासेज देखाउँदा हुन्छ । एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने दूतावासले जनाएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार  ९ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।