काठमाडौं- समृद्धि फाइनान्स निरन्तर ओरालो लागेपछि राष्ट्र बैंकको निगरानीमा परेको छ। कम्पनीको संस्थागत सुशासनमा कमजोर देखिएको र केही ठूला घोटालाका कारण वित्तीय रूपमा कमजोर देखिएको छ।
कम्पनीमा प्रवाहित केहि कर्जामा कैफियत देखिएको छ। समृद्धि फाइनान्समा धेरै खालका खातामा गडबडी पाइएको राष्ट्र बैंकले जनाएको छ।
फाइनान्सका उच्च अधिकारीहरुकै संलग्नतामा स्वीकृत केही कर्जाहरु शंकास्पद रहेका उजुरी आएपछि अध्ययन थालिएको राष्ट्र बैंकका एक अधिकारीले भने।
संस्थागत सुशासनमा देखिएका विगतका गडबडीहरू फेरि दोहोरिन थालेपछि र प्रवाह भएका लोनमै समस्या आउन थालेपछि कम्पनीको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ। पछिल्ला दुई प्रतिवेदन हेरेमात्रै फाइनान्सको पछिल्लो अवस्था छरलंग हुने बताइएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमै पनि यो कम्पनी करिब एक करोड रुपैयाँले खूद घाटामा गएको छ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा त ३ करोडभन्दा बढीले खूद घाटामा थियो। घाटैघाटाले थिचिएको कम्पनी सुध्रिनुको साटो पछिल्लो समय बिग्रिन थालेको र यसको रेपुटेसन समेत बिग्रिरहेकोमा कर्मचारी स्वयम् पनि चिन्तित छन्।
पहिलो त्रैमासमा कम्पनीको वार्षिकीकृत इपीएस ४.८३ रुपैयाँले नेगेटिभ रहेको छ। मूल्य आम्दानी अनुपात ५५.२२ गुणाले नेगेटिभ छ भने दोश्रो बजारमा ३०० रुपैयाँ भन्दा बढी मूल्य प्रतिकित्तामा कारोबार भइरहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ ७४.७२ रुपैयाँको दयनीय अवस्थामा छ।
कम्पनीले म्यानेज गरेर खराब कर्जा अनुपात ४.७९ प्रतिशत देखाएको स्रोत बताउँछ।
यो कम्पनीको अवस्था अघिल्लो आर्थिक वर्षमा पनि उस्तै थियो। यो अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४४ करोडले नेगेटिभ बन्न पुगेको थियो।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार यो कम्पनीको इपीएस ९.९५ रुपैयाँले नेगेटिभ, मूल्य आम्दानी अनुपात ३२.४८ गुणाले नेगेटिभ र प्रतिसेयर नेटवर्थ ७६.८६ रुपैयाँमा सीमित थियो।
कुल ८१ करोड ८९ लाख चुक्तापूँजी भएको यो कम्पनी अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म करिब ८ करोडले घाटामा रहेको थियो। करिब ९ करोडले सञ्चालन घाटामा थियो।
कम्पनीमा चौथो त्रैमाससम्म खराब कर्जाको अनुपात ४.५९ प्रतिशत थियो।




















प्रतिक्रिया