Logo

प्रमुख समाचार

लामिछानेमाथि खोया प्रहारबारे समाचार लेखेकोमा रास्वपाको आपत्ति



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रूपमा प्रचार गरेको भन्दै आपत्ति जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै रास्वपाले तथ्यलाई पूरै वेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएको हो।

पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेमाथि प्रहार गरे भन्ने नखुलेको रास्वपाले बताएको छ। त्यसबारे प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी पनि नदिएको, प्रहारकर्ताले पनि कारण नखुलाएको र सभापति लामिछानेसँग पनि नसोधिएको रास्वपाको दाबी छ।

रास्वपाले आधिकारिक स्रोतले केही जानकारी नदिँदा–नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ समाचार प्रेषित गरिएको आरोप लगाएको छ।

भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिङ्गो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास भएको रास्वपाको आरोप छ। रास्वपाले पार्टी स्थापनादेखि नै केही सञ्चारमाध्यम प्रतिशोध साँधेर निरन्तर आफूहरूविरुद्ध खनिएको समेत टिप्पणी गरेको छ।

रास्वपाले स्वच्छ र मर्यादित हुनुपर्ने पत्रकारिताको धर्मलाई स्वार्थको बन्धक बनाएर गरिने गलत हर्कत अविलम्ब बन्द गर्न र सूचना समाचार प्रेषित गर्दा सन्तुलनको सिद्धान्त ख्याल राख्न आग्रह गरेको छ। साथै, समाचारहरूमा उल्लेख गरिएका विवरण तथ्यसंगत पुष्टि गर्न अन्थया प्रचलित कानुनी प्रक्रियाको सामनाका लागि तयार रहन समेत भनेको छ।

 

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १४:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।