काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको दोस्रो जित हो ।
लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य मधेश प्रदेशले २ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो ।
मधेसलाई जिताउने क्रममा पुजा महतोले नटआउट ६० रनको अर्धशतकीय पारि खेलिन् । उनले ५९ बलमा ५ चौका प्रहार गरिन् । यसैगरी अनुराधा चौधरीले १७ रन बनाउँदा प्रतिमा साहले २ रन बनाइन् । सरस्वती कुमारीले १२ रनको नटआउट पारि खेलिन् । लुम्बिनीका लागि कमला जिएम र सुस्मिता भुसालले एक एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले नटआउट ६४ रन बनाइन् । उनले ६४ बल फेस गदा २ छक्का र ८ चौका प्रहार गरिन् । सरस्वती जिएम १० रनमा रनआउट भइन् । अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन । मधेश प्रदेशकी साक्षी यादवले २ विकेट लिँदा पुजा महतो, आरती महतो र कविता गौतमले एक एक विकेट लिए ।





















प्रतिक्रिया