Logo

प्रमुख समाचार

कोशीमा एमाले-राप्रपाबीचको तालमेलले सिटौलाको जित कति सहज ?



विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । कोशी प्रदेशमा राप्रपाले सभामुख पद लिएपछि एमाले र राप्रपाका बीचमा केही खटपट देखिए पनि राष्ट्रियसभा निर्वाचनमा पुन: दुई दल सहकार्य गरेर अघि बढ्ने भएका हुन् ।

राष्ट्रियसभाको निर्वाचनमा राप्रपाले कोशीमा महिलातर्फ कसैलाई उम्मेदवार बनाएको छैन । अन्य तर्फबाट भने उद्धव पौडेललाई अघि सारेको छ । एमालेले उद्धव पौडेललाई सघाउने र महिलातर्फ एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने दुई दलबीच सहमति बनेको छ ।

सत्ता गठबन्धनले भने अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । महिलातर्फ भने माओवादीकी चम्पादेवी कार्कीलाई अघि सारिएको छ ।

एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवार उठाउँदा सहज ठानेका सिटौलालाई तालमेलले भने चुनौती थपिएको छ । कांग्रेसभित्रको आन्तरिक किचलो अझै मिलिनसकेको र एकीकृत समाजवादी पनि सत्ता गठबन्धनसँग रुष्ट देखिएकाले सिटौलालाई थप चुनौती देखिएको गठबन्धनकै नेता-कार्यकर्ता लख लगाउँछन् ।

अघिल्लो पटक राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार भएका जसपाका हेमराज राई कम्फर्टेबल बहुमतकै बीच पनि हारेका थिए ।

राप्रपा र एमालेको तालमेल हुँदा मतभार धेरै फरक नभएकाले सहजै जित्नेमा ढुक्का रहेका सिटौलालाई समस्या देखिएको छ ।

असोजको २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बन्न केदार कार्कीले पार्टीभित्रैबाट विद्रोह गरेका थिए । उनीसहित ८ संसद् लिएर विद्रोह गरेका कार्कीलाई एमालेको समर्थन थियो ।

पार्टीमा विद्रोह गरेका ८ जना प्रदेशसभा सदस्यलाई कारबाही गरिनुपर्छ भनेर सिटौलाले पार्टी सभापति देउवा समक्ष कारबाहीका लागि दबाब बढाएका थिए । यो बाहेक कोशी प्रदेशमा उनीनिकट उद्धव थापालाई कोशी प्रदेश संसदीय दलको नेता बनाएकोमा समेत असन्तुष्टि छ ।

थापा संसदीय दलको नेता भएपछि २ पटक मुख्यमन्त्री नियुक्त भएका थिए । एक पटक बहालवाला सभामुखको हस्ताक्षर गराएर बहुमत देखाएका थापाले अर्को पटक भने, सभा सञ्चालन गरेका सभा अध्यक्षलाई विश्वासको मत पुर्‍याउन मतदान गराएका थिए ।

उनलाई दुवै पटक अदालतले बरखास्त गरेपछि पार्टीको छवि गिराएको भन्दै कोशी प्रदेशमा सिटौला समूहको आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार २०:२४   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।