काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताहरूलाई अलमल्याइरहेको आक्षेप लगाएका छन् ।
मंगलवार नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका छन् ।
उनले माधव नेपालले जनतालाई भ्रम दिएर झुक्याएको पनि बताए । उनले अध्यक्ष नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर अलमल्याएको समेत बताए । उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रुपमा टिप्पणी गरे ।
अध्यक्ष ओलीले तत्कालीन महाकाली सन्धीको विरोधमा पार्टी फुटाउनेहरू सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको पनि उल्लेख गरे ।
उनले भने ‘एकपल्ट लौ न महाकाली बेचे, खत्तम पारे, गयो महाकाली, भारत पुग्यो भने । महाकाली अहिले पनि उतै बग्दैछ । पहिले पनि उतै बग्दै थियो । हामीले खालि बिग्रिएको सन्धि सच्याउन खोजेका थियौँ । सच्यायौँ । त्यत्ति हो । त्यो सन्धि सच्चिएपछि रुवाबासी, आफ्नै कपाल तानेका छन्, रोएका छन् । लौ न नि भनेका छन् । उफ्रिएका छन् । मडारिएका छन् । हातखुट्टा बजारेका छन् । अनेक तमासा देखियो । देशको माया केही मान्छेहरूलाई नाटकीय ढंगले नै लाग्यो । अचम्मैसँग लाग्यो त्यतिखेर देशको माया । नक्कली ढंगले लाग्यो र पार्टी फुटाए । देशको माया लाग्ने भए पार्टी एकजुट बनाउनुपर्छ कि पार्टी फुटाउनुपर्छ ? देशको माया लाग्दा पार्टी फुटाउने हो त ? होइन नि ।
पार्टी त एकजुट पो बनाएर जानुपर्छ त । त्यो साथीहरूले देख्नुभएको छ । भोग्नुभएको छ । त्यो नक्कली कुरा थियो । कता गयो त महाकालीको इस्यु पछि ? त्यस इस्युमा के भयो त ? त्यो त गलत बुझिएको रहेछ । आफ्नो सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने प्रस्ताव लिएर, अदालत गएर, मलाई मुद्दा जिताइदिनु पर्यो भनेर अदालतमा जाने अनि दक्षिणपन्थी सरकार बनाएर आफ्नो सरकार ढालेर कति अधर्मी, कति आपराधिक मनोवृत्ति होला ? होइन भने त त्यस्तो मान्छे त सुकेरै मर्थ्यो ।
तर पनि ती मान्छेहरू त केही नि जस्तो छैन । उल्टै लाज पनि छैन । सरम पनि छैन । माधव नेपाल हेर्नुस् त, मान्छेलाई अलमल्याएको छ । भ्रम दिएको छ । झुक्याएको छ । जनताकोमा गएर फ्रि भिसा टिकट मिलि, फ्रि का मतलब बिना देउवा, जनता अलमल्याएको छ । झुक्याएको छ सबतिर ।’
उनले माधव नेपालले बिजनेसका लागि राजनीति गरेको टिप्पणी पनि गरे ।




















प्रतिक्रिया