चितवन- विगत पाँच दिनदेखि चितवनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले बुधबार दिउँसो देवघाट पुगेका छन्।
परिवारका सदस्यसहित पूर्वराजा शाह कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाट धाम पुगेर दर्शन गरेका हुन्।
शाह डुंगा चढेर कालिगण्डकी पुगेका थिए। उनको स्वागतमा ९ जना कन्याहरूले स्वस्ती वाचन गरेका थिए। पूर्वराजा शाहको देवघाट भ्रमणको व्यवस्थापन राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले गरेका थिए। २८ माघमा चितवन आएका शाह पटिहानीको सोल्टी होटलमा बस्दै आएका छन्। उनी मंगलबार भने सौराहा पुगेका थिए।
गत वर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए। चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ।
आगामी फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको रहेको छ।
३२ वटा कोठा बुक गरेकोले उनका आफन्तहरू र नजिकैका मानिसहरू पनि यसपटक पटिहानी आउने जनाइएको छ।




















प्रतिक्रिया