जकपुरधाम । मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले पनि फिर्ता लिने भएको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो ।
विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेशसभाको बैठक बस्दै छ । त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताए । ‘सरकारको गतिविधि त्यति सन्तोषजनक छैन । यस्तो सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको पनि मानमर्दन भइरहेको छ । त्यसैले आजको दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय हुन सक्छ,’ दलका नेता यादवले भने ।
यसअघि गत माघ ९ गते जनमत पार्टीले मधेश सरकार छाड्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन लागेका हुन् ।
जनमत पार्टीले सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै एमालेले सरकारलाई समर्थन कायमै राखेकाले आफूहरुलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिन आग्रह गरेको थियो । एमालेले मुख्यमन्त्री यादवलाई दुई पटकसम्म विश्वासको मत दिँदै प्रमुख प्रतिपक्षीको बेन्चमा बस्दै आएको छ ।
अहिले जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन् ।
प्रतिक्रिया