Logo

प्रमुख समाचार

ओलीसँग निर्णायक वार्ता गर्दै प्रचण्ड कांग्रेससँगको सहकार्य तोड्ने !



काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा आ–आफ्नो दाबीको कारण नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको छ । खासगरी राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो दलको उम्मेद्वार पराजित भएपछि माओवादी नेतृत्व कांग्रेससँग असन्तुष्ट छ ।

माओवादीका अधिकांश नेतृत्व तहका नेताहरुले कांग्रेससँगको सहकार्य पूनर्विचार गर्नुपर्ने आवाज उठाएको बेलामा अहिले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा सत्ता गठबन्धनका दुई मुख्य घटक कांग्रेस र माओवादी वारपारको स्थितिमा आईपुगेका छन् । २९ फागुनमा हुने राष्ट्रियसभाको अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेद्वारी दिने निर्णय गरिसकेको छ ।

यसअघि ११ माघमा भएको राष्ट्रियसभाको निर्वाचनअघि नै माओवादी र कांग्रेसबीच राष्ट्रियसभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अघि सार्ने भद्र सहमति भएको चर्चा छ । तर, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै त्यतिवेला अर्कै परिस्थिति भएपनि अहिले त्यो परिस्थिति फेरिएको भन्दै आफूले पनि कांग्रेससँगको सहकार्य तोड्ने मनशाय बनाएको निश्कर्ष सुनाए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने वर्तमान गठबन्धनमा कुनै समस्या नभएको भन्दै कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । प्रधानमन्त्री दाहालसँग योबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर भेटवार्ता गरेका छन् । उनीहरु सत्ता–सहकार्यको लागि सहमतिनजिक पुगेको विश्वस्त स्रोतको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले पनि एमालेकै साथ र समर्थनमा राष्ट्रियसभाको अध्यक्षको लागि उम्मेद्वारी दिने भनेर पार्टीबाट निर्णय गराएको भन्नेबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ । पदाधिकारी बैठकमा अधिकांश नेताले सभापति देउवालाई माओवादीलाई विश्वासमा लिन आग्रह गरेका छन् । देउवाको दूतको रुपमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् ।

कांग्रेसले अब राष्ट्रियसभाको अध्यक्ष माओवादीलाई नै दिने सहमति गरेपनि प्रचण्ड एमालेसँगको सहकार्यको लागि धेरै अघि बढेका छन् । सत्ता–सहकार्यको लागि पटक पटक ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएका छन् । एमाले नेतृत्वले भने समय घर्किएपछि सहमति गर्नुको अर्थ नहुने भन्दै आजरभोलि नै सहकार्यको लागि सहमति गर्न दबाब दिएको छ । विश्वस्त सूत्रकाअनुसार प्रधानमन्त्री दाहालले आजै साँझसम्म ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् ।

 

प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार  १२ : ५९ बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।