Logo

राजनीति

यी हुन् राष्ट्रियसभाबाट बिदा हुन लागेका सांसदहरू



काठमाडौं । राष्ट्रियसभाका २० सांसदको आज पदावधि सकिँदैछ ।

संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको निर्वाचन भएको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जनाको निर्वाचन भएको थियो भने तीन जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।

गोलाप्रथाबाट ६ वर्ष कार्यकाल तय भएका २० जनाको पदावधि आज सकिन लागेको हो । उनीहरूमध्ये १९ जना निर्वाचित हुन् भने एक जना राष्ट्रपतिबाट मनोनीत छन् ।

आज बिदा हुन लागेका सांसदमा नेकपा (एमाले)बाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई हुन् ।

नेपाली कांग्रेसका चार जना सांसदमा रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ छन् ।

नेकपा (माओवादी केन्द्र) का विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महराको पदावधि सकिएको छ । यस्तै, नेकपा (एकीकृत समाजवादी)का नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी (जसपा)का प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि आज पदावधि सकिँदै छ ।

राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिएको छ । उनीहरूमध्ये १९ जना गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएर आइसकेका छन् । उनीहरूको फागुन २१ गते शपथ ग्रहण तय भएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट एक जना मनोनीत हुन बाँकी छ ।

राष्ट्रिसभाका सदस्यको पदावधि ६ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था संविधानमा छ । जसअनुसार संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष सकिएर नयाँ सदस्य आइसकेका छन् । बाँकी एक तिहाइ सदस्यको छ वर्षको पदावधि पनि आज सकिँदैछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ११:०३   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।