Logo

प्रमुख समाचार

कांग्रेस गठबन्धन जोगाउन खोज्दै, प्रधानमन्त्री नयाँ समीकरणको गृहकार्यमा



काठमाडौं- नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै गएपछि सत्ता गठबन्धन सङ्कटमा परेको छ। पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्षको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच असमझदारी बढेको हो।

कांग्रेससँग असमझदारी बढेपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर नयाँ समीकरण बनाउने गृहकार्य थालेका छन्।

कांग्रेसले भने माओवादीसँगको गठबन्धन जोगाउन पहल गरिरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार यस विषयमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन्। उनले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने भएकाले त्यसका लागि तयार रहन निर्देशन दिएका छन्।

यही बीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ। फिनल्यान्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ जाने तयारीमा थिए। अन्तिम समयमा भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कांग्रेस सभापति देउवाले मन्त्री हेरफेर गरेर भए पनि गठबन्धन जोगाउने पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्डले भने नयाँ सत्ता समीकरणका लागि छलफल अगाडी बढाइसकेका छन्।

आइतबार बेलुकी नयाँ समीकरणका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान सत्ता गठबन्धनको बैठक बोलाएका छन्। सत्ता गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीले एमाले, माओवादी, रास्वपा र जसपाको बैठक बोलाउने तयारी गरेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०७:४८   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।