Logo

प्रमुख समाचार

पाँच दिनभित्र देशको राजनीति नयाँ कोर्षमा जान्छ : मेटमणि चौधरी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।

‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौति छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’– उनले भने ।

नेता चौधरीले सरकार निरन्तर रुपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको बताए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको उनको दाबी छ । नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे । प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनको भनाइ छ । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए । नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरुलाई मुलुकको राजनीतिको मूलधारबाट सिमान्तकृत गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ । उहाँकै कारणले, उहाँ बाहेक अरु कोही होईन । म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थैं तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे । आफ्नो कुर्सी फेरिराख्छन्, सत्ता सहकर्मीहरुलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ । उहाँले नेतृत्व गरेको समीकरण अब कुनै हालतमा टिक्दैन । उहाँको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ,’– नेता चौधरीले भने ।

प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएमा मुलुकले दुःख पाइराख्ने र प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने उनको दाबी छ । आफूले संसद्मा बोलेको कुरालाई लिएर माओवादीकै सांसदहरुले ‘प्रचण्डका कारण हामीलाई मुख देखाउन पनि लाज लागिरहेको बेला तपाईँले बोलिदिनु भयो, धेरै खुसी लागेको छ’ भनेर टेलिफोन गरेकोसमेत उनले सुनाए ।

अबको पाँच/सात दिनभित्र मुलुकको राजनीतिक कोर्ष नयाँ ढंगले अगाडि बढ्ने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरुलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार २१:२१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।