Logo

प्रमुख समाचार

कांग्रेस सांसदले गृहमन्त्रीलाई ‘आफैँ झाँक्री…’ भनेपछि एमाले सांसदको नियमापत्ति



काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई रवि लामिछानेलाई लक्षित गर्दै ‘झाँक्री पनि त्यही, बोक्सी पनि त्यही’ भन्ने शब्द प्रयोग गरेपछि एमालेकी सांसद प्रतीक्षा तिवारीले नियमापत्ति जनाएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद राणाले बजेटका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्नेक्रममा गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गरेका थिए ।

सांसद राणाले भने– ‘यो के हो भनेर निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठेरो हुन्छ । धेरै नेपाली नागरिकहरूले पीडा पाएका छन् । यसमा छिटोभन्दा छिटो छानबिन गर्न आवश्यक छ । अहिले झाँक्री पनि त्यही, बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही, छानबिन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण संसदीय छानबिन जरुरी भएको कुरा राख्न चाहन्छु ।’

राणाले बोलिसकेपछि एमाले सांसद तिवारीले नियमापत्ति गरेकी हुन् । तिवारीले भनिन्– ‘भर्खरै बोल्नुभएको माननीयज्यूले हाम्रो नियमावलीको २१ को ‘घ’ विपरीत सम्पूर्ण महिलाहरूलाई अपमानित हुने ढङ्गले लिङ्गिय ढङ्गले अपमानित गर्ने ढङ्गले आफैँ झाँक्री, आफैँ बोक्सी भन्नुभएको हुँदा यो अपमानित शब्द हटाउन सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद तिवारीले उठाएको विषयमा ध्यानाकर्षण भएको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १३:४५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।