सरकारले बिदेशबाट श्रमिकहरुको उद्धार गर्ने भने पनि नेपालमा फर्किएका कामदारहरुलाई झन् दुख दिएको छ । चर्को बिमान शुल्क असुलेर बिदेशबाट उद्धार गरी ल्याइएका कामदारहरुबाट नेपालमा पनि उपत्यकाबाट आफ्नो गृहजिल्ला पठाउँने क्रममा चर्को गाडीभाडा असुलिएको हो ।
बिदेशबाट त्रिभुवन विमानस्थलमा ओर्लिनासाथ श्रमिकहरुलाई जिल्ला पठाउँनको लागि व्यवस्थित गर्न भन्दै उपत्यकाका विभिन्न ठाउँमा ७ वटा होल्डिङ सेन्टरहरु तोकिएका छन् । ती होल्डिङ सेन्टरहरुमा दैनिक ८ सयदेखि १५ सयसम्मको संख्यामा बिदेशबाट आएका यात्रुहरु पुर्याउँने गरिएको छ भने त्यहाँ सिमित मात्रामा तोकिएका गाडीहरुले ती यात्रुहरुलाई जिल्ला लग्ने गरेका छन् ।
कुनै पनि सरकारी कामको जिम्मा लिन वा दिन परेमा बोल कबोलको प्रावधान हुन्छ तर यस मामिलामा त्यस्तो कुनै प्रक्रिया पुरा गरिएको छैन । यात्रुहरुलाई बाहिर जिल्ला पठाउँने अवैध ठेक्का नेस्ट ट्राभल्सका नारायण भट्टराईले लिएका छन् । सरकारले यस्तो महामारीको समयमा कुल भाडा दरमा ५० प्रतिशतसम्म थप भाडा लिन पाउँने भनेको छ तर यहाँ कसैको नीति निर्देशनको पालना हुँदैन । भट्टराईको मात्र बोलवाला चल्ने गरेको छ । उनले जे भन्छन् त्यही हुन्छ अनि जति भाडा तोक्छन् यात्रुले त्यति नै तिर्नु पर्छ ।
बिना कुनै टेण्डर र प्रतिस्पर्धा यात्रु ठग्ने छुट पाएका भट्टराईले दुई सय गुणा भन्दा बढी भाडा लिएर यात्रुहरु पठाउँने गरेका छन् । किन तिर्नु भयो त भन्ने प्रश्नमा एक यात्रुले भने के गर्नु त बल्ल बल्ल काठमाडौं आईपुगियो, यस्तो बेलामा पैसा भन्दा आफन्तको नजिक पुग्न हतार भयो । बिदेशमा दुख पाएर स्वदेश फर्किदा यस्तो महामारीमा पनि आफ्नै देशमा लुटिनु पर्दो रहेछ चित्त बुझाउँनु परेको छ ।
नेपाल आर्मी, सशस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीको समेत सुरक्षा घेरा बनाईएको होल्डिङ सेन्टरमा भई रहेको यस्तो चरम ठगीको बारेमा कसैले मुख खोल्न सक्दैनन् । सुरक्षा घेरामा रहेका सुरक्षाकर्मी देखेर सबैको सात्तो जान्छ एक यात्रुले भने ।
कसरी हुन्छ ठगी
पहिलो कुरा त आफूले कुनै प्रयोजनमा रकम तिरेपछि त्यो प्रयोजन अनुसारको बिल, बिजक, टिकट वा भर्पाई पाउँनु नागरिकको अधिकार हो । तर ती सात वटा होल्डिङ सेन्टरमा नागरिकलाई त्यस्तो अधिकार छैन । भाडा ८ सय तोकिएको छ भने नारायण भट्टराईले खटाएका मान्छेले सिधै दुई हजार माग्छन् यात्रुले दिएर गाडी चढ्छन् तर त्यो रकम तिरेको टिकट उनीहरुले पाउँदैनन् । अचम्म त के छ भने भट्टराईले त्यसरी रकम उठाए पनि गाडी धनीले भने त्यसको ७० प्रतिशत रकम पनि पाउँदैनन् ।
किन यतिधेरै ठगी गरेको भनी होल्डिङ सेन्टरमा गाडीको ठेक्का लिएका भट्टराईसँग बुझ्दा बढी रकम लिएको स्विकार गरे । गाडीका कर्मचारी, सेनिटाईजर लगायतको व्यवस्था गर्नु पर्ने भएको कारण आफूले गाडी धनीलाई यात्रुबाट उठाएको पुरा रकम दिन नसकेको उनको तर्क थियो ।
राष्ट्रिय महासंघको साथ र संरक्षण
एउटा ट्राभल कम्पनी चलाएको भरमा यात्रुबाट चर्को रकम असुलेर गाडी धनीलाई समेत ठग्न छुट पाएका भट्टराईलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको साथ र संरक्षण रहेको आरोप लागेको छ । विशेष श्रोतका अनुसार होल्डिङ सेन्टरमा यात्रुहरुबाट उठाईएको रकम सिटौलासम्म पनि पुग्ने गर्छ । जसले गर्दा उनी न यात्रुको पक्षमा बोल्छन् नत गाडी धनीको हितमा नै ।
सिटौलाको मिलेमतोकै कारणले बस व्यवसायीहरुले पालैपालो गरेर सबैको गाडी चलाऔं भन्दा पनि त्यस्तो गर्न नदिएको पाईएको छ ।
हामीले झापाको रुटको गाडी झापा तिर नै चलाऔं, महेन्द्रनगरको त्यतै चलाऔं भनेको हो तर यहाँ ताप्लेजुङ रुटको गडी पनि लगातार पश्चिमतिर पठाई दिए । एक व्यवसायीको पिडा अर्को व्यवसायीले बुझ्ने भएन । गाडी व्यवसायीको अधिकारको रक्षा गर्छौं भन्नेहरुले नै बिचौलिया परिचालन गरेर हामीलाई दुख दिए । एक बस व्यवसायीले भने ।
ट्राफिक प्रहरी प्रमुखदेखि विभागका डिजीसम्मको संलग्नता
कसैले अनियमितता गर्दा नियमनकारी निकायले आँखा चिम्लि दिए भने के होला ? यस ठगी काण्डमा पनि यस्तै भएको छ । नारायण भट्टराईले सम्पूर्ण सुरक्षा निकायका अधिकारीहरु नै राखेर यात्रु र बस व्यवसायीलाई ठगी रहेका बेला ट्राफिक प्रहरी प्रमुख भिम प्रसाद ढकाल र यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालको समेत संलग्नता रहेको आरोप लागेको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका बरिष्ठ उपाध्यक्ष किरण रिजालका अनुसार मोटो कमिसनको लोभमा ढकाल र हमालले यात्रु र गाडी धनीलाई लुट्न प्रेरित गरिरहेका छन् ।
बिचौलियाले अनधिकृत रुपमा होल्डिङ सेन्टर कब्जा गरेर बिना टिकट अवैध रुपमा रकम असुलेको र यात्रु ठगिरहेको बारेमा प्रतिक्रिया माग्दा विभागका महानिर्देशक हमालले महामारी भएकोले टिकट नै दिनु पर्छ भन्ने नभएको बताए । यस्तो बेलामा टिकट नै दिनु पर्छ भन्ने चाहीँ छैन तर तोकिएको भन्दा बढी रकम उठाएको पाइएमा विभागले कारवाही गर्छ । हमालले भने । ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालको भने फोन उठेन ।
प्रतिक्रिया