काठमाडौं । दुई दिनअघि बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी (हानेपा) प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले हानेपा संसदीय दलका नेता बज्राचार्यलाई आजै शपथ गराएर सरकारमा सहभागी गराउने तयारी भएको जानकारी दिए । यसअघि मंगलबार मात्रै हानेपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।
११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनका रहेका दलहरूले बहुमत पुर्याउन नसक्दा साना दलहरूसँग नियमित छलफलमा थिए ।
अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन् । हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद हुनेछन् ।





















प्रतिक्रिया