Logo

अनलाइनपाना खोज

यस्ता छन् इलाम-२ डम्बर खड्का जित्‍ने आधार



काठमाडौं । आगामी वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले जिल्ला सभापति डम्बरबहादुर खड्काले दोहोर्‍याएर टिकट हात पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले गत हप्ता आइतबार आफ्नो निवास बुढानिलकण्ठ बोलाएर खड्कालाई जिल्ला गएर आफ्नो सम्पूर्ण तयारी गर्न निर्देशन दिइसकेका छन् ।

यसका साथै सभापति देउवाले अन्य ६ जना आकांक्षीलाई पनि बोलाएर खड्कालाई सहयोग गर्न आग्रह गरिसकेका छन् । यसपटक पार्टीमा एकताबद्ध भएर कांग्रेस उम्मेदवारलाई जिताउने गरी आकांक्षीहरु पनि सहमत भएको कांग्रेस नेताहरु बताउछन् । स्थलगत अवस्थाबारे बुझ्‍न पार्टी महामन्त्री विश्‍वप्रकाश शर्मा इलाममा छन् । गत निर्वाचनमा झिनो मतान्तरले पराजित भएका खड्का यसपटक जित हात पार्ने लक्ष्यमा छन् ।

यस्ता छन् जित्‍ने आधार

इलाम–२ मा देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सबै वडा यस क्षेत्रमा पर्दछन् । इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडा र माइ नगरपालिकाका वडा नम्बर ६, ७ र ८ यस निर्वाचन क्षेत्रमा पर्दछन् । गत स्थानीय तहको चुनावमा इलाम नगरपालिका र चुलाचुली गाउँपालिका कांग्रेसले जितेको छ । इलाममा ४२ वडा पर्ने यस क्षेत्रमा २२ वडा अध्यक्ष कांग्रेसका छन् ।

जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङक अनुसार २०७९ को निर्वाचनमा यहाँ १ लाख १५ हजार ३४२ मतदाता थिए । त्यसमध्ये ५९ हजार १३६ मत खसेको थियो । यहाँ १४ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । सो निर्वाचनमा खड्का जम्मा ११४ मतान्तरले मात्रै पराजित भएका थिए । जसमा एमालेका सुवास नेम्बाङले ३० हजार २० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार खड्काले २९ हजार ९०६ मत पाएका थिए । यद्पि उक्त निर्वाचनमा नेम्वाङलाई जिताउन धाँधली भएको भन्दै चर्को आलोचनासमेत भएको थियो ।

सबै पार्टीको एकल प्रतिस्पर्धा

यसपटकको उपनिर्वाचनमा एमालेलाई माओवादीले सघाउने भएको छ भने अन्य दल एकल प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा अन्य सबै दलहरुले जनजाती समुदायबाट उम्मेदवार उठाएका छन् । जसका कारण मत बाँडिने सम्भावना रहेकोले पनि कांग्रेस उम्देवार खड्काले जित्‍ने आधार बलियो बन्दै गएको छ । नेकपा एमालेले सुवास नेम्वाङको छोरा सुहाङ नेम्वाङलाई, राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीबाट भर्खर प्रवेश गरेका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ भने अन्य पार्टीहरुले पनि जनजाती उम्मेदवार उठाउनुका साथै पहिचान पक्षधरहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि उम्मेदवार उठाउने तयारी गरिरहेका छन् । यसका साथै यसअघि रास्वपाले पराजितलाई उम्मेदवार बनाउनुका साथै माओवादीबाट आएकालाई उम्मेदवार बनाएको भन्दै यसअघिका उम्मेदवार पनि असन्तुष्ट बनेका छन् । यसरी जनजाती समुदायबाट अधिकांश उम्मेदवार हुनु नै कांग्रेस उम्मेदवार खड्कालाई फाइदा हुनु हो ।

एमालेका आन्तरिक असन्तुष्टि र पहिचानविरोधीको ट्याग

नेकपा एमालेमा सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएपछि लामो समय पार्टी राजनीतिमा लागेकाहरु असन्तुष्ट बनेका छन् । एमालेका सुहाङबाहेक नरेन्द्र भट्टराई, गणेश बराल, उदय राई, बुद्धि खनाल, रवीन्द्र सुवेदी लगायत आकांक्षी थिए । तर, पार्टीले इलाम-२ लाई बाबुको बिर्ता बनाएको र बाबुपछिको शेष छोरा सुहाङलाई सुम्पिएको भन्दै आन्तरिक असन्तुष्टि चुलिएको छ ।

एकजना आकांक्षीले भने,’इलाम-२ कसैका बाबुको बिर्ता होइन । यहाँ लामो समयदेखि रगत पसिना बगाएका नेता-कार्यकर्ताहरु हुनुहुन्छ र भोट फर SUN बाट एमाले भोट फर SON मा नै एमालेको हार हो ।’ यसका साथै नेकपा एमालेलाई पहिचान विरोधी पार्टीको ट्याग लागेको छ । यसअघि नेकपा एमालेको मध्ये पहाडी लोकमार्ग यात्राका क्रममा नेकपा एमालेले पहिचान विरोधी काम गरेको भन्दै यात्रामा अवरोधसमेत भएको थियो ।

तर, कांग्रेस उम्मेदवार खड्काले पनि पहिचान पक्षधरसँग एक्यबद्धता जनाउँदै संवादको माध्यमबाट पहिचानको मुद्दा समाधान गर्नुपर्नेमा जोड दिएका थिए । खड्काले जनजातीको पहिचानको मुद्दा र यसको विपक्षमा रहेकाहरुबीच पुलको काम गर्दै समस्या समाधान गर्नसक्ने भएकोले पनि खड्काप्रति मतदाताहरुको दरीलो साथ देखिन्छ ।

केन्द्रमा पहुँच र समाजसेवी छवि

कांग्रेस उम्मेदवार खड्का इलाम-२ मा उम्मेदवार बन्‍नुअघि नै समाजसेवाको छवीबाट आएका हुन् । यसका साथै उनको पार्टी केन्द्र र सरकारमा राम्रो पहुँच भएका व्यक्ति हुन् । राष्ट्रिय पहिचान बनाएका खड्काको पहुँचको फाइदा इलाम-२ को विकास निर्माणमा तीव्रता आउनेछ ।

विकास निर्माणमा आफ्नै पैसा खर्च गरेर काम गरिरहेका खड्का निर्वाचित भएको अवस्थामा इलाम-२ को मुहार फेरिने आशा पनि मतदाताहरु रहेका देखिन्छन् । खड्काले चाहे सडक स्तरोन्‍नतीमा होस्, अथवा विद्यालय, मठमन्दिरको निर्माणमा खड्का अग्रपंक्तिमा रहन्छन् । यसअघि पनि चाहे कोरोना महामारीको संकटमा होस्, अथवा अन्य विपत्ति र आपतविपतमा होस्, जनताको सेवामा रातिदिन खटिने व्यक्ति भएकोले पनि खड्काको उम्मेदवारी सदरको सम्भावना प्रबल देखिन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०९:३८   :  बजे

984
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।