Logo

राजनीति

जनताको नाम लिएर कांग्रेसले सदनमा आक्रोश पाेख्याे : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको टिप्पणी गरे । ‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ। यस्तो गर्नुहुँदैन। संसदीय प्रणालीलाई संसदीय प्रणालीकै रूपमा रक्षा गर्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले जति सारो जनताको नाम लिइराखेको छ, त्यति जनतालाई परेको छैन जति कांग्रेसलाई परेको छ। कांग्रेसको सारोगाह्रोले गर्दा यस्तो भइराखेको छ।’

जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै ओलीले उत्तेजना नभई संयमित ढंगले विधिअनुसार समाधान खोज्नुपर्नेमा जोड दिए । कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको उनको प्रष्टोक्ति थियो ।

बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक अवस्थालाई बुझ्नुपर्ने ओलीले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १४:३६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।