काठमाडाैं । अर्थतन्त्रमा आएको सिथिलताका कारण व्यवसायी तथा उद्योगीहरु ऋण लिन झण्झटमा पर्ने गरेका छन् । धेरै व्यवसायी र व्यापारीहरुले बैंकबाट सजिलै ऋण नपाएको गुनासो पोख्छन् । तर यति नै बेला बैंकमा भने पैसा थुप्रिएको छ । ऋण प्रवाह नहुँदा बैंकहरुको व्याजदर घटिरहेको छ ।
कोभिडको प्रकोपपछि विश्वमै अर्थतन्त्रमा विभिन्न समस्याहरु खडा भइरहेका छन् । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुमा पनि कोभिड, कोभिडपछि विश्वमा भएका विभिन्न युद्धहरुका कारण समस्याहरु आएका छन् । नेपाल पनि यी समस्याबाट टाढा छैन् । नेपालको अर्थतन्त्रलाई कोभिड, रुस–युक्रेन युद्ध तथा इजरायल प्यालेस्टाइन युद्धको असरले नराम्ररी थला पारेको छ ।
बैंकबाट ऋण लिएको पैसा फिर्ता नहुनु, उद्योगधन्दा बन्द हुँदै जानु, मूल्य बृद्धि तीब्र हुनु, सहकारीमा समस्या आउनु नेपाली अर्थतन्त्रमा देखिएका समस्याका केही उदाहरणहरु हुन् । अहिले त्यही कारण बैंकबाट ऋण लिएर उद्यम गर्नेहरुको संख्यामा कमी आएको छ ।
ऋण प्रवाह कमजोर हुँदा बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिएको छ । अर्कोतिर लगानी गरेको पैसा सहज तरिकाले पनि बैंकहरुले उठाउन सकेका छैनन् । नेपालको यो अवस्थाको असर बैंकहरुको कारोबारमा छर्लङ्गै देखिन्छ ।
अहिले बैंकहरुको अवस्था के छ त भनेर अनलाइन पानाको टिमले सरकारी बैंक, राष्ट्रिय बाणिज्य बैंकको अवस्था बुझ्ने प्रयास गरेको छ । बैंकको समग्र अवस्था र देशको अर्थतन्त्रका कारण बैंकमा परेको प्रभावको बारेमा राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालयका मार्केटिङ विभाग प्रमुख अच्युत गौतमसँग गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।
हाल नेपालको आर्थिक अवस्था सिथिल छ भनिन्छ, बैंकिङ क्षेत्रको अवस्था कस्तो छ ?
हाल अर्थव्यवस्था हेर्ने हो भने ‘एक्सटर्नल सेक्टर’ एकदमै राम्रो छ । अलिकति कमजोर अवस्था भनेको सरकारको रेभिन्युमा दबाब छ । तर वित्तीय क्षेत्र अथवा बैंकिङ क्षेत्र हेर्ने हो भने बैंकिङ क्षेत्रमा अत्याधिक तरलताको अवस्था छ।
एनपीएल (नन पर्फमिङ लोन) को अवस्था बढ्दो छ । बजारमा केही अव्यवसायिक गतिविधिहरु बढिरहेका छन् । त्यसको असर एनपीएलमा परेको छ । लोनको डिमाण्ड अलि कमजोर अवस्थामा रहेको छ जसको कारणले अत्यधिक लिक्वीडिटी(तरलता)को अवस्थामा बैंकहरु रहेका छन् ।
बैंकिङ क्षेत्रमा अधिक तरलता छ, कर्जाको माग कम छ भनिन्छ ! किन यस्तो भएको होला ?
बैंकिङ क्षेत्रमा अत्याधिक तरलता भएको स्वाभाविक हो। अहिले अत्याधिक तरलताको अवस्थामा बैंकहरु छन्। यसको कारण बैंकमा रिसोर्स दुई खालको हुन्छ। एउटा आन्तरिक स्रोत, जसलाई राष्ट्र बैंकले मोनिटरिङ गरेको हुन्छ। मनी(पैसा) सप्लाई राष्ट्र बैंकको कन्ट्रोलमा हुन्छ । त्यो आन्तरिक स्रोत भयो। र, अर्को स्रोत बाह्य स्रोत, सरकारको नियन्त्रण र एफडीआईको मात्रा बढ्यो भने बैंकिङ क्षेत्रमा अत्यधिक तरलताको अवस्था हुन्छ र रेमिट्यान्स घट्यो भने चाहिँ तरलता न्यून हुने अवस्था हुन्छ।
त्यसकारणले यो अवस्था राष्ट्र बैंकको पूर्ण कन्ट्रोलमा पनि छैन। राष्ट्र बैंकको पूर्ण कन्ट्रोलमा नभएको कारणले रेमिट्यान्स बढ्दा तरलता बढ्ने र रेमिट्यान्स घट्दा तरलता घट्ने हन्छ । अहिले इतिहासमै रेमिट्यान्सको अवस्था उच्च छ । त्यसैले तरलता बढेको पाइएको छ।
बैंकिङ क्षेत्रबाट ठूला कर्पोरेट सेक्टरलाई मात्र कर्जा दिन्छन्, स–साना व्यवसायीले कर्जा पाउँदैन भन्ने आरोप सही हो ?
बैंकङ क्षेत्रमा नर्मल्ली अरु प्राइभेट संस्था जस्तै नाफा गर्नुपर्ने केही हदसम्म बाध्यता हुन्छ। तर भनिए जस्तै बैंकिङ क्षेत्रले ठूला ऋणीहरु, ठूला कर्पोरेट हाउसलाई मात्र लोन दिने तर सानो व्यवसायीहरुले लोन पाइरहेको अवस्था छैन भनेर बजारले केही हदसम्म आरोप लाउने गरेको सत्य हो । तर स-साना ऋणीहरूलाई लोन नदिने भन्ने कुरामा सत्यता छैन् । बैकिङ क्षेत्रले लोन दिँदा ठूला कर्पोरेट हाउसलाई त दिन्छ नै तर स-साना व्यवसायीहरूले प्रपोजल प्रोजेक्ट सही किसिमले प्रस्तुत गरिरहेका हुँदैनन्।
उनीहरूको प्रोजेक्ट एकातिर हुन्छ भने काम अर्कोतिर हुन्छ । तिनीहरुलाई चाहिँ वित्तीय शिक्षाको पनि अभाव छ । त्यसकारणले रियल काम गर्ने व्यक्तिहरु बैंकसम्म आइ नपुगेको अवस्था र जसले लोन माग्छ तिनीहरुले रियल काम नगरेको अवस्था भएकोले हेर्दाखेरि स-साना ऋणीहरुले लोन नपाएको जस्तो देखिन्छ ।
वास्तवमा प्रपोजल सही लिएर बैंकसम्म आएभने ससाना व्यवसायीहरुलाई, ससाना उद्योगहरुलाई पनि बैंकिङ क्षेत्रले लोन दिन्छन् तर मागेर मात्र हुँदैन । किनकी उनीहरुले के काम गर्ने हो प्रष्ट रुपमा उनीहरुको प्रपोजलसहित बैंकमा आउनुपर्यो । त्यसपछि सबैले अवश्य लोन पाउँछन् ।
ओभरअल बैंकिङ क्षेत्रलाई नै लोनको प्राथमिकीकरण गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘डिरेक्टिभ सेक्टर लोन’ भनेर ‘डिरेक्टिभ’ दिएको हुन्छ ।
राष्ट्र बैंकले तोकेको क्षेत्रमा बैंकिङ क्षेत्रले अनिवार्य लोन प्रवाह गर्नुपर्ने हुन्छ। जसलाई डाइरेक्टेड लोन भनिन्छ । राष्ट्रिय वाणिज्य बैंकले पनि राष्ट्र बैंकले दिएको डाइरेक्टिभ सेक्टर अनुसार काम गरेको छ । त्यस्तैगरी कृषि क्षेत्र, उद्योग, व्यवसाय, ऊर्जा क्षेत्र, पर्यटन क्षेत्रलाई राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ हेरेको छ।
स-साना मार्जिनल एसएमइ (साना तथा मझौला उद्योगका लागि दिइने ऋण) लोनहरु राष्ट्रिय वाणिज्य बैंकले सात दिनमै पास गर्न सक्छ । एसएमइ लोन एउटा नयाँ प्रोडक्टको रुपमा रहेको छ। यो मार्केटमा सबभन्दा सस्तो छ र सात कार्य दिनभित्रै निर्णय गरी सबभन्दा सस्तो लोन मार्जिनल पिपुलहरूलाई दिइन्छ । पाँच वा ७ करोडसम्मको मार्जिनल पिपलहरुलाई पनि हुनेगरी एउटा लोन प्रोडक्ट डिजाइन गरेर राष्ट्रिय वाणिज्य बैंकले ससाना उद्यमीहरुका स्टार्टअपहरुलाई दिन्छ । जसले रियलमा काम गर्छन्, रियलमा उद्यम गर्छन्, रियलमा व्यवसाय गर्छन्, जसको प्रोजेक्ट भाएबल छ, त्यस्ता ऋणीहरुलाई लोन दिनको लागि पनि हामी लागिरहेको अवस्था छ।
राष्ट्रिय वाणिज्य बैंकले स–साना ॠणीहरुलाई पनि ॠण दिएको छ भन्नुभयो, कुनै उदाहरण छन् ?
वाणिज्य बैंकले स-साना कृषि क्षेत्रका उद्यमीहरूलाई ऋण प्रबाह गरेको छ । मार्केटमा सबभन्दा बढी लोन हामीले फ्लो गरेका छौँ।
स-साना उद्यम व्यवसाय जुन रिमोट एरियामा छन्, जसले कृषि पेशा गरिरहेका छन्, तिनीहरुलाई राष्ट्रिय वाणिज्य बैंकले लोन दिएको थुप्रै उदाहरणहरु छन्। त्यस्तैगरी कृषि मात्र नभएर नयाँ नयाँ स्टार्टअपहरु जसले राम्रो परियोजना लिएर आएका छन्, ती स्टार्टअपहरुलाई पनि राष्ट्रिय वाणिज्य बैंकले लोन दिँदै आएको छ।
नेपाल सरकारले लागू गरेको सहुलियतपूर्ण कर्जामा पनि वाणिज्य बैंकहरु मध्ये सबभन्दा बढी लोन प्रवाह गरेर राष्ट्रिय वाणिज्य बैंक पुरस्कृत समेत भएको छ।
बैंकिङ क्षेत्रमा यतिबेला अत्याधिक तरलता छ, बैंकिङ क्षेत्रमा अत्याधिक तरलता दोहोरिने प्रकृतिको समस्या किन आएको हाेला ?
अघि मैले भनिसकेँ- बैंकिङ क्षेत्रमा तरलताको स्रोत भनेको दुई किसिमको हुन्छ । एउटा चाहिँ इन्टर्नल सोर्सेज जुन नेपाल राष्ट्र बैंकले मनी सप्लाईबाट कन्ट्रोल गर्छ । दोस्रो भनेको एक्सटर्नल सोर्सेस हो। त्यो भनेको एफडिआई (फरेन डाइरेक्ट इन्भेस्टमेन्ट) र रेमिट्यान्सबाट प्राप्त हुन्छ । यदि एफडीआई र रेमिट्यान्स बढ्यो भने बैंकिङ क्षेत्रको तरलता पनि बढेको हुन्छ भने एफडीआई र रेमिटान्स घट्यो भने तरलता घटेको अवस्था हुन्छ।
त्यसकारणले स्रोतको प्रोजेक्सन हामीले गर्न सक्ने अवस्था हुँदैन। त्यसकारणले यसलाई निराकरणको लागि रेमिट्यान्सका स्रोतहरुलाई अलि विविधिकरण गर्नुपर्ने जरुरी छ । एउटा पार्टिकुलर कन्ट्री पार्टिकुलर सेक्टर नभएर रेमिट्यान्सलाई विविधिकरण गरी एफडिआईको अवस्था बढाएर केही हदसम्म बैंकिङ क्षेत्रको तरलतालाई नियन्त्रण गर्न सकिन्छ भने अर्को इन्टर्नल सोर्स त नेपाल राष्ट्र बैंकले मनि सप्लाई मार्फत केही हदसम्म नियन्त्रणमा राखिराखेको हुन्छ ।
हाल आएर बैंकिङ क्षेत्रमा केही अव्यवसायिक गतिविधिहरु देखिएका छन्। जसको कारणले बैंकिङ क्षेत्रको एनपीएल बढिरहेको छ । अब ऋण तिर्नै नसकेर एनपिएल बढ्ने एउटा अवस्था छ भने केही चाहिँ ऋणीहरुले जानेर सकेर पनि ऋण नतिरेको अवस्था छ तर बैंकिङ क्षेत्रले मात्र यसको समस्या समाधान गर्न सक्दैन ।
यसको लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नागरिक समाज र जो कोही इन्डिभिजुअलले पनि आफूले लिएको ऋण तिर्नु पर्छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । यो बैंकिङ क्षेत्रको लोन भनेको पब्लिकको डिपोजिट भएको कारणले बैंकहरु भनेको यसका कस्टडियनहरु मात्र हुन्। त्यसकारणले बैंकिङ क्षेत्रबाट लोन लिएर अनिवार्य तिर्नुपर्छ भन्ने कुरा पब्लिकलाई बुझाउन जरुरी छ।
पब्लिकले पनि बुझ्न जरुरी छ, यसको लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंकले पनि सहयोग गरिरहेको अवस्था छ । र, पहिले भन्दा अहिले सुधारको अवस्था त छ तर ओभरअल बैंकिङ इन्डस्ट्रीमा यसको प्रभाव परेको कारणले एनपीएलको अवस्था बढ्दो छ।
यति मात्र होइन, कोभिड इम्प्याक्ट, पोस्ट कोभिड इम्प्याक्टको कारणले पनि इकोनोमिक एक्टिभिटिजहरु केही खुम्चिएका छन् । त्यसकारणले उद्योग व्यवसायीहरुले राम्रो प्रफिट गर्न नसकेको कारणले पनि समयमा ऋण तिर्न नसकेको अवस्था केही हदसम्म छँदै छ । अब यो पोस्ट कोभिड इम्प्याक्टको रिकभरी पनि बढ्दै गएको र अव्यवसायिक गतिविधिहरु पनि शान्त हुँदै गएको अवस्थाले भविष्यमा एनपीएलको अवस्था सुधार हुने लाइनमा देखिन्छ । यद्यपि इन्डस्ट्रीमा राष्ट्रिय वाणिज्य बैंकको एनपीएलको अवस्था बढेकै छ। तर नियन्त्रण बाहिर गएको अवस्था छैन ।
इन्टरनेसनल स्टान्डर्ड एनपीएलको आधारमा राष्ट्रिय वाणिज्य बैंकको एनपीएलको अवस्था राम्रो छ । ३.९ अराउन्डमा एनपीएलको अवस्था राष्ट्रिय वाणिज्य बैंकको रहेको छ।
खराब कर्जा न्यूनिकरणका लागि राष्ट्रिय वाणिज्य बैंकले कस्ता–कस्ता किमिसका रिकोभरी प्रोसेस अगाडि बढाएको छ ?
रिकभरीको प्रोसेस अगाडि बढाउनको लागि राष्ट्रिय वाणिज्य बैंकले विशेषगरी दुई खालका एक्सनहरु लिने गरेको छ। एउटा त विनफुल डिफल्ट हो कि होइन भन्ने कुरा पहिला छुटाउने गरिरहेको छ।
यदि विनफुल डिफल्टर हो भने चाहिँ त्यसलाई रिकभरी एक्सनमा गएर कालो सूचीमा राख्ने, लिलाम गर्ने गरी पनि रिकभरी प्रोसेस अगाडि बढाइरहेको छ भने साँच्चिकै उसको बिजनेसमा ह्याम्पर भएको कारणले बिजनेस डाउन भएको कारणले उसले तिर्न नसकेको हो भन्ने कुरा देखियो र यदि उसले बैंकलाई एउटा नयाँ प्लान लिएर यसरी म नयाँ प्लान अनुसार रिकभरीमा बिजनेस सञ्चालन गर्छु भनेर आयो भने हामीले रिस्ट्रक्चरिङ रिसेडुलिङ गरेर पनि लोनको व्यवस्थापन गरिरहेको अवस्था छ ।
राष्ट्रिय वाणिज्य बैंक पुरानो शैलीको छ, आधुनिक प्रविधियुक्त उत्पादनहरु हुँदैनन् भनिन्छ, साँच्चीकै राष्ट्रिय वाणिज्य बैंक पुरानै अवस्थामा छ त ?
राष्ट्रिय वाणिज्य बैंक २०२२ सालमा स्थापना भएको नेपाल सरकारको बैंक हो। धेरै अगाडि राष्ट्रिय वाणिज्य बैंकको मार्केट मोनोपोली मार्केट थियो।
त्यसकारणले केही मोनोपोली मार्केटको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकका व्यवहारहरू केही फरक ढंगका थिए तर अहिले कम्पिटिसन-कम्पिटिसनको अवस्था छ।
त्यो प्रतिस्पर्धात्मक अवस्थामा हामीले नयाँ प्रविधियुक्त प्रोडक्टहरु डिजाइन गरेर मार्केटमा चलिरहेको प्रविधिलाई भित्र्याएर मार्केटले खोजेजस्तो एक्स मार्केट ओरिएन्टेड प्रोडक्टहरु डिजाइन गरी मार्केटमा सेल गरिरहेको अवस्था छ।
पुरानै शैलीको भनेर आरोप भएपनि एक पटक राष्ट्रिय वाणिज्यमा आएर सबै महानुभावहरुलाई राष्ट्रिय वाणिज्य बैंकको सेवा प्रयोग गरेर हेर्न आग्रह गर्छु ।
अहिले राष्ट्रिय वाणिज्य बैंक एकदमै आधुनिक प्रविधियुक्त रहेको छ। यहाँ काम गर्ने स्टाफहरू एकदमै योङ्गेस्ट स्टाफहरू छन्।
अराउन्ड ३४ इयर्सका एभरेज एज भएका कर्मचारीहरुले यो बैंकमा काम गरिरहेका छन् । त्यसकारणले काम गर्ने स्टाफहरू एकदमै योङ एनर्जेटिक छन् र हाम्रो इन्ट्री लोकसेवा आयोगबाट पास गरेर आउनुपर्ने भएकोले ज्ञानको हिसाबले पनि एक्सिलेन्ट छन् । प्रविधि मैत्री वातावरणमा विभिन्न सर्भिसहरु हामीले दिने गरेका छौं। डिजिटल कारोबारमा सबभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक भनेर हामी पुरस्कृत पनि भएको अवस्था छ।
त्यसकारणले सम्पूर्ण महानुभावहरुलाई एकपटक बैंकमा आएर बैंकको सर्भिस प्रयोग गरी अनुभवले बैंक माथि लागेको जुन आरोप छ त्यो आफैँले रियलाइजेसन गरेर यसको खण्डन गरिदिनुहुन म आग्रह पनि गर्दछु।
कार्यकारी अधिकृतको नियुक्ति प्रकृयामा राजनैतिक हस्तक्षेप प्रत्यक्ष रुपमा हुन्छ भनिन्छ नि ! तपाईलाई के लाग्छ ?
राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो। त्यसकारणले नेपाल सरकारको राष्ट्रिय वाणिज्य बैंकमाथि चासो हुनु स्वभाविक हो। तर सिइओ नियुक्ति प्रक्रियामा पब्लिक इन्टरप्राइजेजले प्रयोग गर्ने प्रक्रिया छुट्टै छ । त्यस्तै हाम्रो सरकारी बैंकले पनि एउटा सञ्चालक समितिले एउटा कमिटी गठन गरेको छ । त्यो कमिटीमा प्रतिस्पर्धात्मक वातावरणमा सिइओ नियुक्त गर्ने प्रचलन रहेको छ।
बाहिर भनिए जस्तो अस्वस्थ प्रतिस्पर्धा पनि हुँदैन । त्यस्तो सोर्स फोर्स पनि हुँदैन। तर सरकारी बैंक भएको कारणले नियुक्ति प्रक्रियामा सरकारले सहयोग गर्नुपर्ने, सरकारका प्रावधानहरु पूरा गर्नुपर्ने, केही बाध्यात्मक व्यवस्था छ तर यसमा कुनै बायसनेस पोलिटिकल हस्तक्षेप हुँदैन । उत्कृष्ट-उत्कृष्ट पर्फर्मरलाई नै नियुक्ति प्रक्रियामा सामेल गराइन्छ ।
समग्रमा राष्ट्रिय वाणिज्य बैंकको अहिलेको तरलताको अवस्था कस्तो छ ?
हामीसँग पनि मार्केटमा भनिए जस्तै एक्सेस लिक्विडिटीको अवस्था छ। इन्ट्रेस्ट रेट डाउनवर्ड छ । मार्केटमै सबभन्दा सस्तो इन्ट्रेस्ट रेट राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्र बैंकको अहिले ७० प्रतिशतको हाराहारीमा सिडी रेसियो भएकाले अझ लोन, लोनबल फण्ड २०प्रतिशतले बढाउन सक्ने अवस्था छ।
ठूलादेखि साना उद्योग व्यवसायीहरु, जसले उद्योग गरिराख्नु भएको छ, स्टार्टअपमा हुनुहुन्छ र ठूला कर्पोरेट हाउसहरुलाई आवश्यक पर्ने लोनेबल फण्डको लागि आउनुस् । बैंकसँग सम्पर्क गर्नुस । सबभन्दा सस्तो छ । एकदमै छोटो समयमा राम्रो तरिकाले यहाँहरूको वित्तीय आवश्यकता पूरा गर्न हामी तयार छौं।
हामीसँग एक्सेस लिक्विडिटी भएको अवस्था छ र लिक्विड फण्ड हाई भएको कारणले इन्ट्रेस्ट पनि सबभन्दा सस्तो छ । यहाँहरु प्रपोजलसहित आउनुभयो भने इजिली लोन पाउने व्यवस्था छ ।
हाल मार्केटमा अर्थतन्त्र एकदमै समस्यामा छ, शिथिल छ, भनेर भनिएको छ। अर्थतन्त्रको डेटा हेर्दा त्यस्तो प्रब्लम्याटिक देखिँदैन । एक्सटर्नल सेक्टर मजबुत अवस्थामा छ। रेमिट्यान्स इन्फ्लो एकदमै इतिहासमै सबभन्दा धेरै छ । अब केही समस्यामा परेको सरकारी वित्त केही दबाबमा छ । सरकारले पुँजीगत खर्च सोचेजस्तो गरी गर्न सकेको छैन् । अन्य अवस्था सकारात्मक छन्। त्यसकारणले यता बैंकिङ क्षेत्रको कुरा गर्दा पनि बैंकिङ क्षेत्रमा एक्सेस लिक्विडिटी छ।
इन्ट्रेस्ट रेट डाउनवर्ड ट्रेन्डमा छ । त्यसकारणले समस्या कहाँनिर हो त भन्दा, पब्लिकमा अलि ट्रस्टको अभाव भयो। बैंकिङ क्षेत्रप्रति, सरकारप्रति केही पब्लिक ट्रस्टको अभाव भएको हो कि भन्ने गुनासो छ ।
त्यसकारणले यो उद्योग व्यवसायीको लागि उचित समय हो। लगानी सबै उद्योग व्यवसायीहरुले आआफ्नो क्षेत्रमा बढाएर विश्वास गरे बैंकिङ क्षेत्रप्रति विश्वास गर्न सक्ने अवस्था छ ।
सरकारप्रति विश्वास गर्न सक्ने अवस्था छ। त्यसकारणले यस्तो अवस्थामा इन्ट्रेस रेट एकदमै लो भएको बेलामा सबैले आफ्नो इन्भेस्टमेन्ट बढाएर बजारबाट नाफा लिन सक्ने अवस्था हो।
सबभन्दा फेभरेबल अवस्था हो। त्यसकारणले इकोनोमी प्रति ट्रस्ट गरेर आफ्नो एक्टिभिटी बढाउन सक्नुभयो भने तपाईं प्रफिट गर्न सक्नुहुन्छ । यो चाहिँ अत्यन्तै उचित समय हो जस्तो लाग्छ।
सरकारकै अस्थिर चरित्रले सरकारप्रति विश्वास गरिहाल्न सक्ने अवस्था पनि त छैन नि ?
संवैधानिक व्यवस्था अनुसार सरकार परिवर्तन हुन्छ। सरकार परिवर्तन भएपनि आर्थिक क्षेत्रका नीतिहरु एउटै प्रकृतिका हुन्छन् । नर्मल्ली बैंकिङ क्षेत्रमा सरकारमा को बस्यो ? कुन पार्टी सरकारमा बस्यो ? भन्ने कुराले खासै अर्थ राख्दैन । सरकारले लिने पोलिसीहरु जुनसुकै पार्टीको सरकार हुँदा पनि नेपालमा त्यति ठूलो अन्तर हुँदैन । अहिले अर्थतन्त्र ग्रोइङ एजमा छ । बैंकिङ क्षेत्र ग्रोइङ एजमा छ। इन्ट्रेस रेट एकदमै घटेको कारणले यो इन्भेस्टमेन्ट गर्ने बेटर अपर्चुनिटी हो।
सरकार परिवर्तन हुनु यो राजनीतिक कुरा हो । यसले केही हदसम्म प्रभाव पारे पनि अर्थतन्त्रमा ठूलो प्रभाव पार्दैन जस्तो मलाई लाग्छ ।
प्रतिक्रिया