Logo

प्रमुख समाचार

मधेसमा सरकार जोगाउन दलहरूको दौडधुप, कसकाे पल्ला भारी ?



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा आफ्नो सरकार जोगाउन विभिन्न प्रयास गरिरहेको छ । नेकपा माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिइसकेपछि जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

जसपा नेपालले आफ्नै नेतृत्वमा सरकारलाई निरन्तरता दिन विभिन्न दलसँग संवाद सुरु गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय सरकारबाट समर्थन फिर्ता लिने बित्तिकै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवासमा पुगेर भेटेका थिए । भेटमा अध्यक्ष यादवले मधेस प्रदेश सरकारमा सहयोग गर्न ठाकुरसमक्ष आग्रह गरेका थिए । तर लोसपा अध्यक्ष ठाकुरले स्पष्ट जवाफ दिएनन् ।

माओवादी केन्द्र र एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । अहिलेको सरकारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मात्र साथ दिएको छ ।

जसपा नेपाल नेतृत्वको सरकारलाई नेकपा एकीकृत समाजवादीले साथमात्र होइन, सरकारलाई बचाउन पनि भूमिका खेल्ने सो पार्टीका मधेस प्रदेश संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेले बताए । उनले भने, ‘हामीले जसपा नेपाल नेतृत्वको सरकारलाई विश्वास मत दिएका थियौँ, अहिले पनि त्यही सरकार कायम छ । हामी त्यही सरकारमा छौँ । यो सरकारलाई बचाउनका लागि नेकपा एकीकृत समाजवादीले भूमिका पनि खेल्छ ।’

अहिले पुनर्गठन गरिएको सरकारमा मुख्यमन्त्रीसहित पाँच जना मन्त्री र एक जना राज्यमन्त्री छन् । त्यसमा नेकपा एकीकृत समाजवादीका दुई जना मन्त्री छन् । मधेस प्रदेश सभामा जसपाको १९ र नेकपा एकीकृत समाजवादीको सात सांसद छन् । जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ । जसपा नेपालले कांग्रेसको पनि साथ खोजेको छ । मधेस प्रदेश सभामा कांग्रेससँग २२ जना सांसद छन् ।

कांग्रेसले साथ दिए पनि ६ जना सांसद अपुग हुन्छ । नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् । ती दलले समर्थन गरे पनि जसपा नेपाल नेतृत्वको सरकार बनाउन गाह्रो छ । त्यसमा लोसपाको समेत साथ चाहिन्छ । लोसपासँग नौ सांसद छन् ।

तर लोसपाले जसपा नेपाल नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिइसकेको कारण पुनः समर्थन दिने अवस्था नरहेको बताउँछ । सो पार्टीका उपाध्यक्ष एवं मधेस प्रदेश सभाका सांसद जितेन्द्र सोनलले जसपा नेपाललाई विश्वासको मत दिने सम्भावना अहिलेलाई नरहेको बताए । उनले लोसपा कांग्रेसको साथमा रहेको प्रस्ट पार्दै कांग्रेसलगायत अन्य दलहरू मिलेर सरकार बनाउँदा लोसपाले समर्थन गर्न सक्ने बताए । तर जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार  ८ : २१ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।