काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।
प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा १ मत पर्यो । कांग्रेससहित विपक्षी सांसदहरु भने मतदान प्रक्रियामा सहभागी नभइ नाराबाजीमै रहे ।
संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।
त्यसपछि सुरु भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरुले नाराबाजी जारी राखे । विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोले ।
वेलसम्म पुगेका विपक्षी दलहरुलाई मर्यादापालकले चारैतिरबाट घेरेर राखेका थिए । विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुगेका थिए । रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने जिकीर गरे ।
प्रतिक्रिया