काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अपहेलनामा कारबाही गर्न माग गर्दै संसदमा निवेदन दर्ता भएकाे छ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले गृहमन्त्री रवी लामिछानेलाई सांसदकाे मर्यादामा आँच आउने गरी बाेलेकाे भन्दै अपहेलनासम्बन्धी कसूरमा कारबाही गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएका हुन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले रोष्टमबाट ‘तथ्यहीन कुरा’ गरेकाे आराेप गुरूङकाे छ । पत्रमा पनि संसदको अपहेलना भएको भनिएको छ ।
सांसद धनराज गुरुङले पत्रमा लेखेका छन्, ‘सम्मानित अदालत भन्दा माथि कोही हुँदैन।… सर्बोच्च अदालतले १६ बर्ष पहिले गरेको फैसलामाथि धावा बोल्दै गृह मन्त्रीले कुटनैतिक राहदानी सम्बन्धी संसदमै मिथ्या आरोप लगाए पछि सम्मानित संसदमा निवेदन पेश गरेको छु।’
गृहमन्त्री रवी लामिछानेले आइतबार संसदमा बाेल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङ लक्षित गर्दै ‘मिडियामा गुरुङले राेताे पासपाेर्ट बेचेकाे समाचार आएकाे’ले उनीमाथि छानबिन समिति किन नबनाउने भनि प्रतिप्रश्न गरेका थिए । लामिछानेलाई कांग्रेसले झण्डै एक महिनादेखि सहकारी संस्थाकाे पैसा अपचलन गरेकाे आराेपमा कारबाही गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध पारेकाे थियाे भने राेष्टममा बाेल्नसमेत दिएकाे थिएन ।
निक्कै समयकाे राजनीतिक छलफलपछि कांग्रेसले लामिछानेलाई संसदमा बाेल्न दिएकाे थियाे । त्यही अवसरमा लामिछानेले कांग्रेसका नेतामाथि लागेकाे आराेपहरु सुनाएर कांग्रेसमाथि नै प्रतिप्रश्न तेर्स्याएका थिए ।
सांसद गुरूङले त्यही विषयलाई लिएर साेमबार संसदमा निवेदन दर्ता गराएका हुन् ।
उनले निवेदनमा लेखेका छन्- ‘नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरुमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथी धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरि अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाई पाईसकेका रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी आम नागरिकबीच भ्रम श्रृजना गर्न खोजेको, आफुलाई अदालतभन्दा माथी राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु ।’
उनले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधिसभा सचिवालयमा सुरक्षित रहेको गुरुङले बताए । देशको गृहमन्त्रीले अनैतिक रुपमा तथ्यहिन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ ।
आफूले बोलेको कुराहरु पुष्टि गर्न गुरुङले गृहमन्त्री लामिछानेलाई चुनौती दिए । गुरूङले निवेदनमा थप भनिएकाे छ, ‘यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु । प्रतिनिधिसभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरी निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रूपले माग गर्दछु ।’
प्रतिक्रिया