Logo

अन्तर्राष्ट्रिय

माइक्रोसफ्टले टिकटककाे सेयर किन्न सक्ने ट्रम्पको संकेत



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्ने सम्भावना देखाएको संकेत गरेका छन् ।

एक पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधिएको थियो, ‘के माइक्रोसफ्टले टिकटक खरिद गर्नका लागि छलफल गरिरहेको छ?’ यसको जवाफमा उनले भने, ‘हो, टिकटकमा साँच्चिकै रुचि छ,’ साथै, टिकटक खरिदका लागि मोलमोलाइको प्रतिस्पर्धा देख्न चाहेको पनि बताएको बीबीसीले जनाएको छ ।

यसअघि टिकटकको अमेरिकी कारोबारलाई खरिद गर्ने विषयमा अमेरिकी कम्पनीहरूसँग प्रारम्भिक छलफल भएको समाचार सार्वजनिक भएको थियो । त्यतिबेला एलन मस्कको नाम पनि चर्चामा आएको थियो ।

गत हप्ता ट्रम्पले एक निर्देशनात्मक आदेश जारी गर्दै ७५ दिनभित्र अमेरिकी कम्पनीलाई टिकटकको सेयर बिक्री गर्नुपर्ने र त्यसो नगरे टिकटक बन्द गर्ने चेतावनी दिएका थिए । अमेरिकाको संघीय अदालतले १९ जनवरीसम्म टिकटकलाई आफ्नो मूल कम्पनी बाइटडान्ससँगको सेयर सम्झौता फिर्ता गर्ने आदेश दिएको थियो ।

यस आदेशपछि अमेरिकाका अधिकांश प्रयोगकर्ताको फोनमा टिकटकले काम गर्न छोडेको थियो । सरकारी प्रतिबन्ध कार्यान्वयन अघि, टिकटकले सूचना जारी गरेर अमेरिकामा एप्लिकेशन नचलाउने बताएको थियो । तर, ट्रम्पले केही खुकुलो नीति अपनाएपछि टिकटकले सेवामा पुनः सुरूवात गरेको छ ।

अमेरिकामा टिकटकटका १७ करोड प्रयोगकर्ता रहेको अनुमान छ ।

 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार ११:२६   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।