Logo

सूचना/प्रविधि

एसिड पीडितहरुकाे लागि नयाँ कानून बनाउने प्रधामनमन्त्रीको आश्वासन, १५ दिन भित्र मस्यौदा तयार गर्न निर्देशन 



प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड)  पीडितहरूले माग गरे अनुरूप  अमानवीय र जघन्य अपराधका दोषी माथि कडा कार्बाही गर्ने उद्धेश्यले  अध्यादेश मार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गरेका छन् । 

त्यसका लागि   १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्री ओलीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु(याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गरिने बताएका छन् ।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेका मध्ये १२ जना पीडितहरू सहभागी बिहिबारको विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने , पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेको प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि निशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने समेत प्रधानमन्त्री ओलीले बताएका छन् । साथै, उचित तालीम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने समेत जनाएका छन् ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने बताए । हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन् ।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त गरेका छन् । नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  २ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।