काठमाडौं । नेपाली कांग्रेसर नेकपा एमालेबीचको सहकार्य सकसपूर्ण ढंगले अघि बढिरहेका बेला प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका दुई वटा गतिविधिले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुराबाट फोन गरेकै दिन उपमहासचिव जनार्दन शर्मा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुग्नुले राजनीतिमा भित्रभित्रै केही पाकिरहेको हुन सक्ने आशंका गरिएको छ ।
जेठ २ गते ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का लागि देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग फोनवार्ता गरे । सोही दिन अपराह्न देउवालाई भेट्न शर्मा उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।
अध्यक्ष प्रचण्डको फोन र उमहासचिव शर्माको भेटलाई माओवादी सचिव दीनानाथ शर्मा अर्थपूर्ण रूपमा अथ्र्याउँछन् । उनी कांग्रेस सभापति देउवाले नै सहयोग मागेपछि के कस्तो सहयोग हो भन्ने बुझ्न उपमहासचिव शर्मा बूढानीलकण्ठ पुगेको बताउँछन् ।
‘हामीलाई सहयोग गर्नुपर्यो भनेर देउवाजीले भन्नुभयो । त्यसपपछि कस्तो प्रकारको सहयागे हो ? के हो ? भन्ने कुरा हुँदा सरकारको गतिविधि यस्तै छ, यी सबैमा सहयोगको अपेक्षा भएपछि तपाईहरू सरकार चलाउनुस्, सहयोग रहन्छ भन्ने कुरा हाम्रो हो’, देउवा–प्रचण्ड फोनवार्तापछि उपमहासचिव शर्मा भेट्न गएको बारे उनले भने, ‘सहयोग र समर्थन रहन्छ भन्ने कुरा गरिदिनुस् भन्ने भयो । त्यही कुरा हो ।’
प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले देउवासँग टेलिफोन संवाद भएको सुनाएका थिए । आन्तरिक कुरा नखुलाए पनि उनको भनाइ थियो, ‘यो शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो ।
डडेल्धुरामा स्वागत भन्नुभएको छ ।’ यता, शर्मा स्वयंले पनि सोही दिन सामाजिक सञ्जालमा देउवासँगको तस्बिर साझा गर्दै देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताएका थिए । उनले लेखेका छन्,‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’
पछिल्लो समय कांग्रेस–एमाले गठबन्धन सहज रूपमा अघि बढिरहेको छैन । यस्तो बेला प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले देउवालाई गरेको फोन र उपमहासचिव शर्मासँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर, सत्ता साझेदार कांग्रेसले भने त्यसलाई सामान्य रूपमा व्याख्या गरेको छ ।
शनिबारको संसदीय दलको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रचण्डको फोन र जनार्दनको बूढानीलकण्ठ प्रवेश संयोगमात्र भएको प्रष्टीकरण दिए । उनले भने, ‘संयोग मात्रै हो, शेरबहादुरजीकै जिल्लामा गएका बेला गरौं भन्ने लागेको मात्रै होला । पहिला ओलीजीले गर्नुभएको थियो । म पनि गरौं भन्ने लागेको होला, जनार्दनसँग भेट्नुमा कुनै नाता जोडिएको छैन ।
संयोग मात्रै हो ।’ यसअघि २०८० मंसिर १५ गते एमाले अध्यक्ष एवं अहिलेका प्रधानमन्त्री ओलीले पनि कांग्रेस सभापति देउवासँग डडेल्धुरा पुगेका बेला फोन वार्ता गरेका थिए । मेची–महाकाली अभियानको सिलसिलामा डडेल्धुरा पुगेका ओलीले देउवासँग फोन वार्ता गरेका थिए । त्यस बेला एमाले प्रमुख प्रतिपक्षी दल थियो ।
अहिले प्रचण्डले देउवासँग गरेको भित्री कुराकानी बाहिर आएको छैन तर सरकारका कतिपय विवादित कदम र निर्णय, गभर्नर लगायत विषयमा कांग्रेस र एमालेको सम्बन्ध ठीकठाक छैन ।
संस्थापन इतर पक्षले सरकार गठनको केही महिनायता निरन्तर आलोचना गर्दै आएकोमा पछिल्लो समय कांग्रेसमा असन्तुष्टिको स्वर झ्न बढ्दै गएको छ । प्रधानमन्त्रीको पालो कुरिरहेका सभापति देउवा र मन्त्रिपरिषद्मा रहेका बाहेक अधिकांश कांग्रेस नेताहरू केपी ओली सरकारको कार्यसम्पादनप्रति सन्तुष्ट छैनन् ।
शुरुमा दुई ठूला दलबीचको सरकार सफल हुनु पर्छ भनेर लागिपरेका कांग्रेस महामन्त्री पछिल्लो समय टाढिएका छन् । विवादित कदम र निर्णयका कारण सरकारको आलोचना जनस्तरबाटै बढ्दै गएपछि त्यो अपजस लिन नपरोस् भन्ने मनस्थितिमा देखिन्छन् ।
सरकार सञ्चालन उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका महामन्त्री थापा संयन्त्रको बैठकमा मात्रै होइन, सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा समेत अनुपस्थित रहे । उनी पार्टीको काममा केन्द्रित छन् ।
सरकारका विवादित कदम र निर्णयका कारण संस्थापन पक्षकै नेताहरू समेत सरकारको कार्यसम्पादनप्रति सन्तुष्ट छैनन् । कांग्रेस प्रवक्ता महत सरकारप्रति पार्टीमा चर्काे असन्तुष्टि रहेको भने स्विर्काछन् ।
उनी भन्छन्, ‘ठूला दुई पार्टीको गठबन्धन हुँदा हाम्रा कुरा यथेसष्ट सुनिएन कि ! भन्ने चासो चिन्ता हुनुस्वाभाविक हो । गभर्नरलगायतका नियुक्ति अलमलमा परिरहेका छन् । अनावश्यक ढिला भइरहेको छ । किन ढिला भएको ? किन त्यस्तो भयो भन्ने तमाम चिन्ता त राख्छ नै । हाम्रो पार्टीको हैसियतअनुसारका कुरा सुनिनु पर्यो । निर्णय त्यही अनुसार हुनु पर्यो भन्नुभएको छ साथीहरूले ।’
भित्री र बाह्य शक्तिको चाहना र राष्ट्रिय राजनीतिमा देखिएको घटनाक्रम कांग्रेस–एमाले गठबन्धन अनुकूल नरहेको विश्लेषण हुँदै आएको छ । प्रतिपक्ष सरकारको विरोधमा उत्रिनु स्वभाविक भए पनि सत्तासीन भित्रै किचलो हुनु र छिमेकीले पनि नरुचाउनाले अहिले भित्रभित्रै केही पाकिरहेको ठान्छन् राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं ।
‘दुई ठूला दल मिलिसकेपछि यो मन नपराउने देशी र विदेशी शक्ति छन् । स्वाभाविक रूपमा रचनात्मक सहयोग भन्दा पनि सरकारलाई कहाँ नेरबाट पल्टाउन सकिन्छ भन्ने उद्देश्य प्रतिपक्षको हुनेनै भयो ।
अर्काे चाहिँ अन्तार्राष्ट्रिय चासोको विषयलाई हेर्दा अहिलेको गबन्धनसँग भारत खुसी पटक्कै छैन । इतिहासमै पहिलो पटक १० महिनासम्म नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको छैन’, उनले भने, ‘यो प्रमुख प्रतिपक्षीको आडभरोसा हुनसक्छ ।’
विगतमा नेपालका दुई प्रधानमन्त्री भारत भ्रमणमा गएका छैनन् । सुशील कोइराला भारतले बोलाएर पनि गएका थिएनन् भने झलनाथ खनाल ६ महिनामात्रै पदमा रहेकाले भारत भ्रमणमा जान पाएका थिएनन् । तर, अहिले कांगे्रसको समर्थनमा ओली प्रधानमन्त्री बनेको १० महिना नाघिसक्दा पनि भारतले निम्तो गरेको छैन ।
नेपालका अधिकांश ठूला राजनीतिक परिवर्तनमा जस लिने भारतलाई कांगे्रस–एमाले गठबन्धन मन नपरेको विश्लेषण पहिल्यैदेखि हुँदै आएको छ । पाकिस्तान र भारतबीच पहलगाम मुद्दा उत्पन्न भएकाले मात्र कांग्रेस एमाले गठबन्धन थप लम्बिएको ठान्छन् विश्लेषक डा. चापागाईं ।
‘यदि भारत र पाकिस्तानबीच पहलगाम विवाद नभएको भए सायद देउवा र आरजु थाइल्याण्डबाट फर्कँदै खेरी देशको राजनीतिक फेरिन सक्थ्यो तर त्यो बेला भारत आफ्नै त्यो विवादले गर्दा फोकस हुन पाएन’, उनी भन्छन्, ‘त्यो सुल्झिसकेपछि अहिले देखिएको घटनाक्रमले केही पाक्दैछ भन्ने देखिन्छ ।’
गत वैशाख पहिलो साता स्वास्थ्य उपचारका लागि भन्दै थाइल्यान्ड गएका बेला देउवाले प्रचण्डलाई फोन गरेका थिए । देउवाले प्रचण्डलाई फोन गरेपछि धेरैले कांग्रेस र माओवादीबीच फेरि गठबन्धन हुन लागेको अनुमान गरेका थिए तर बंैककबाट फर्किने क्रममा देउवाले त्यसलाई खारेज गरेपछि त्यो चर्चा सेलाएको थियो ।
देउवाले अहिले पनि ओली नेतृत्वको सरकारलाई विना हिच्किचा हट समर्थन गर्दै आएका छन् । पार्टीका अधिकांश नेताहरूले असन्तुष्ट व्यक्त गरे पनि उनले भने ओली सरकारको अपजसको भागिदार बनाएरै आफूलाई प्रस्तुत गर्दै आएका छन् ।तर, विश्लेषक चापागाईं यसलाई पनि रणनीतिक ठान्छन् । ‘देउवाले ओलीको अजपस पनि लिनुलाई चाहिँ डिप्लोमेसी भनिन्छ ।
जहाँ एउटा फेसमा जान्छ, अर्काे ब्याकमा हुन्छ’, उनी भन्छन्, ‘सहकार्यगरेको पार्टीबाटै सरकारको सडकदेखि सदनमा समेत कटु आलोचना भइरहेको छ । त्यो एउटा फ्याक्टर सशक्त छ भने अर्काेतिर फेस सेभिङ गरिएको छ, त्यसमा उभिएका छन् देउवा एकै जना । यो डिप्लोमेसी चालमात्रै हो भन्ने मलाई चाहिं लाग्छ ।’
राजनीतिक अध्येता पीताम्बर भण्डारी भने अहिल्यै समीकरण फरेबदलभन्दा पनि सत्तासीन दलभित्रै केही जटिल र नवीन मुद्दा आउने र त्यसले नेतृत्वमाथि चुनौती थप्न सक्ने सम्भावना औंल्याउँछन् । ‘तत्काल सरकार फेरिनेभन्दा पनि त्यसले केही कोर्स लिने देखिन्छ । यसमा केही जटिल र नवीन मुद्दा आउन सक्छन् राष्ट्रवाणीमा समाचार छ ।
खासगरी सत्तारूढ दलहरूभित्रै किचलो बढ्दै जाने र नेतृत्वमाथि प्रश्न उठाउने, चुनौती दिन खोज्ने हुन सक्छ । कांग्रेस भित्र र एमालेमा पनि देखिएकै छ’, उनी भन्छन्, ‘यो आधार भित्रभित्रै तयार भइरहे पनि त्यसले बाहिर आकार नै ग्रहण गरिसकेको चाहिं छैन ।’




















प्रतिक्रिया